तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

‘शिक्षा, स्वास्थ्य, उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता’

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको ०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार नगरसभाको बाह्राँै अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाँणले उपलब्ध स्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

बिहीबारकै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो।

समृद्ध नगर खुसी नगरबासीको नारासहित ल्याइएको नीति तथा कार्यक्रमले तिलोत्तमालाई समृद्ध, समतामूलक, स्वच्छ, हराभरा र विकसित नगर बनाउने लक्ष्य लिइएको छ। जनप्रतिनिधि शासक होइनन्, सेवक हुन् भन्ने मान्यताबाट सन्तुलित र समन्यायिक विकासलाई ध्यानमा राखेर नगरको सेवालाई छिटो छरितो, जनउत्तरदायी र पारदर्शी बनाउने प्रतिबद्धता गरिएको छ।

बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकलाई सम्मान संरक्षण महिलालाई समतामूलक अवसर सिर्जना हुने गरी नीति कार्यक्रम तयार गरिएको नगरप्रमुख खाँणले बताए।

नीति कार्यक्रमले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता दिएको छ। श्रम बैंक तथा रोजगार सूचना केन्द्र स्थापना गरी सीप ज्ञान, दक्षताको आधारमा श्रमकार्ड वितरण गर्ने नीति लिइएको छ।

हिंसा मुक्त र समतामूलक समाज निर्माणका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ। महिला बालबालिका र ज्येष्ठ नागरिक अनुकूलको नगर निर्माणमा ध्यान दिने भनिएको छ।

एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थलका लागि ‘तिलोत्तमा चौपारी’ निर्माणको नीति लिइएको छ। युवाका लागि नगरप्रमुख युवा उद्यमी परिचालन कोष स्थापना गरी उद्यामशीलताको विकास गर्ने नीति लिइएको छ।

लैंगिक, जातीय, क्षेत्रीय, धार्मिक सांस्कृतिक तथा भाषिक विभेदलाई निषेध गर्ने भनिएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयको विद्युत् र पानीको महसुलमा ५० प्रतिशत छुट दिने र इन्टरनेट निःशुल्क बनाउने नीति लिइएको छ। वडा नम्बर १४ मा सिटी कजेज सञ्चालनका लागि सिटिइभिटिईबाट सम्बन्धन लिएर विभिन्न विधामा कक्षा सञ्चालन गर्ने, नैतिक तथा व्यावहारिक शिक्षाका लागि एक विद्यालय एक पुस्तकालय तथा इलाइब्रेरी सञ्चालन गर्ने नीति लिइएको छ। हाल १२ वटा स्कुलमा सञ्चालन भएको एक विद्यालय एक नर्सको नीति आगामी वर्ष सबै सामुदायिक विद्यालयमा लागू गर्ने भनिएको छ।

आगामी वर्ष ३ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा १० लाख विशेष अनुदान दिने र ती बस सञ्चालनमा प्रतिमहिना १ लाख दिने उल्लेख छ। समुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने छ। सामुदायिक विद्यालयका कक्षा ६ सम्मका विद्यार्थीको खाजा खर्चमा नगरबाट रु १० थप गरी २५ पु¥याइएको छ।

बालबालिकामाथि हुने यौनजन्य हिंसाबाट बच्न प्रतिरक्षात्मक सीप तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

प्रत्येक वडामा खेल मैदान र नगरमा रंगशाला निर्माण गर्ने भनिएको छ।

स्वास्थ्यमा नगर प्रमुख विपन्न सहायता कोष स्थापना गरी गरिब विपन्न नागरिकको गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहुँच र व्यवस्था गर्ने नीति लिइएको छ। स्वस्थ नगरवासी स्वस्थ नगर भन्ने नारासहित गुणस्तरीय स्वास्थ्य सेवामा नगरबासीको समतामूलक पहुँच विस्तार गर्ने भनिएको छ।

नगरस्तरीय ल्याब स्थापना, नगरप्रमुखसँग ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, ब्लड बैंक स्थापनालाई प्राथमिकता दिइएको छ।
सेमरा हेल्थ पोस्ट्लाई १५ शय्याको अस्पताल बनाउने, वडा नम्बर ६ र १७ मा रहेको बिपी ग्राममा निर्माणाधिन १५ शय्याको अस्पताललाई सञ्चालनमा ल्याउने भनिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई १ हजार भत्ता निरन्तरता दिइने, गर्भवती महिलालाई निःशुल्क क्याल्सियम वितरण तथा सुत्केरी महिलाको पोषण सुधार गर्न गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ। गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भनिएको छ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि पाँँच वर्षे कृषि योजना तर्जुमा गरी कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ। नगरप्रमुखसँग किसान कार्यक्रममार्फत नगरका कृषकलाई संघ सरकारको किसानसँग सरकार कार्यक्रमबीच समन्वय गरी जोड्ने नीति लिइएको छ।

नगरको वडा नम्बर १४ लाई तरकारीको पकेट, १२ लाई मकै पकेट क्षेत्र, १३ लाई माछा, १७ गहुँ पकेट क्षेत्रलाई प्रोत्साहन गर्दै अन्य वडामा पनि अध्ययन गरी विभिन्न बाली पकेट क्षेत्र बनाउने नीति लिइएको छ।

कृषि र कृषक प्रोत्साहनका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याइएको छ। पशुपालक किसानका लागि आधारभूत भेटेरेनरी सेवा र भ्याक्सिन निःशुल्क गर्ने भनिएको छ। वडा नम्बर १७ को निर्माणाधीन चिस्यान केन्द्र सञ्चालनमा निजी तथा सहकारीसँग सहकार्य गर्ने भनिएको छ।

जग्गा खाली राख्न नपाइने नीतिलाई निरन्तरता दिइएको छ। कृषि फार्म सञ्चालनलाई प्रोत्साहन गर्न नीति ल्याइएको छ। तिनाउ र रोहिणीका नदी उकास क्षेत्रमा उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने भनिएको छ।

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भनिएको छ। विदेशबाट फर्केकाहरूलाइ कृषि पेसामा जोड्न सामूहिक तथा व्यावसायिक योजनालाई प्रोत्साहनको नीति लिइएको छ।

एक घर एक धारा कार्यक्रम सफल बनाउन प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी काम गर्ने भनिएको छ। सिँचाइका लागि स्यालो ट्युबवेल, पुराना सिँचाइको मर्मत सम्भार गर्ने, १६÷३६ सिँचाइका सम्पूर्ण ठूला–साना नहर कुलो संरक्षण मर्मत सम्भार पक्की बनाउनेलगायत कामलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ।

तिलोत्तमालाई साइकल सिटीको रुपमा विकास गर्न आवश्यक गृहकार्य गर्ने भनिएको छ। यसअघि नगरका घरमा एकै किसिमका रंग कोड लगाउनुपर्ने भनेर यसअघिको नेतृत्वले ल्याएको बाध्यात्मक नियमलाई हटाई स्वैच्छिक बनाइएको छ।

वडा नम्बर १३ र १४ मा प्रस्तावित प्रादेशिक बसपार्क, १६ र १७ मा एकीकृत जग्गा विकास योजना, १३ मा अटो भिलेज स्थापनालाई नीति कार्यक्रमले समेटेको छ। नगरस्तरीय कोशेली घर, युवा तथा महिलासँग उपमेयर कार्यक्रम, ६ लेन सडकका मुख्य चोकमा आगलागी नियन्त्रणका लािग फायर वाटर हाइड्रयान्ट सिस्टम राख्नेजस्ता समुदायसँग जोडिएका कार्यक्रम ल्याइएको छ।

लेखा प्रणाली, बेरुजु फस्र्याेटजस्ता कार्यलाई चुस्त दुरुस्त र व्यवस्थित गर्न लेखा समितिको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ।

विपद् उद्धार व्यवस्थापनका लागि टाक्सफोर्स बनाइने भनिएको छ।
लक्षित वर्ग महिला, बालबालिका, अपांगता, आदिवासी, जनजाति, दलित, ज्येष्ठ नागरिक, मधेसी, मुस्लिम र पिछडा वर्ग समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी विभेदरहित र समतामूलक समाज निर्माण गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्