नेपाललाई उच्च शिक्षाको हब बनाएर विद्यार्थी भित्र्याउन सकिन्छः राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाललाई उच्च शिक्षाको हब बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमै उत्कृष्ट शैक्षिक संस्थाहरू स्थापना गरी बाहिर जाने विद्यार्थी रोक्न सकिने बताएका हुन् ।

निजी क्षेत्र र सरकारको सहकार्यमा मात्रै शिक्षामा गुणस्तर सुधार्न सकिने उनले बताए । ‘सरकारले पनि लगानी बढाउनुपर्छ । सरकारले सबैभन्दा बढी शिक्षामै लगानी गरेको छ । अहिले पब्लिक(प्राइभेट(पार्टनरसिपमै शैक्षिक गुणस्तर सुधार्नुपर्छ । राज्यले पनि नयाँ(नयाँ नमुना विद्यालयहरू स्थापना गर्नुपर्ने बताएका छन् । सामान्य शिक्षाभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्छ,’ उनले भने ।

निजी क्षेत्रले सरकारसँगै सहकार्य गरेर उच्च शिक्षामा ठूलो लगानी गरेर विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति तयार पार्नुपर्ने उनले बताए ।

‘नेपाललाई उच्च शिक्षाका लागि हब बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । हामीलाई ११ वटा विश्वविद्यालयले पुग्दैन। अझै २५ वटा विश्वविद्यालय हामीलाई चाहिन्छ । त्यसैले नेपाललाई शैक्षिक हब बनाएर बाहिरबाट विद्यार्थी तान्न सकिन्छ । यसले नेपालबाट उच्च शिक्षाका लागि बाहिर जानेलाई पनि रोक्न सकिन्छ । साथै बाहिरका विद्यार्थीलाई भित्र्याएर वैदेशिक मुद्राको सञ्चिति बढाउन पनि सकिन्छ,’ उनले भने ।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्