सिमकोट गाउँपालिकाद्वारा ५३ कराेड बजेट पारित

सिमकोट- हुम्लाकाे सिमकोट गाउँपालिकाले गाउँ सभा सञ्चालन गरेर बजेट पारित गरेको छ। सभाका सदस्य र कर्मचारीबीच छोटो समय सञ्चालन भएको सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिएको हो।

गाउँपालिकाको छैटौँ गाउँसभा सिमकोटस्थित मानसरोवर होटेलमा सञ्चालन गरिएको थियो।

सञ्चारकर्मीलाई समेत जानकारी नगरिएको सभाले करिब ५३ करोड बजेट पारित गरिएको पाइएको छ।

आगामी आर्थिक वर्षको बजेटमा के र कस्ता कार्यक्रम समेटिएका छन् त्यस बारेमा समेत कुनै जानकारी गराइएकाे छैन।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको सभाध्यक्षमा सञ्चालन भएको सभामा उपाध्यक्ष सुशिला भाम रोकायाले बजेट प्रस्तुत गरेकी थिइन्।

प्रस्तुत बजेटमाथि सामान्य छलफल समेत नभएको सभाकी एक महिला सदस्यले बताएकी छन्।

होटलमा गाउँसभा सञ्चालन गरेको भन्दा सबैतिरबाट टिकाटिप्पणी सुरु भएको छ।

निवर्तमान गाउँपालिका उपाध्यक्ष बली रावतले गाउँसभा सञ्चालन गर्ने कार्य होटलमा गरिनु राम्रो पक्ष नभएको बताए। होटलमै सभा सञ्चालन गर्नुकाे कारण भने गाउँपालिकाले खुलाएको छैन।

असार ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्