नेपाली लेखक संघद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’ स्थापना

काठमाडाैँ- नेपाली लेखक संघले एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ। संघको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक स्रष्टालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष एवं वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विसं २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउन सुरुआत गर्ने निर्णय गरेको छ।

उक्त दिन नेपाली लेखक संघका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको संघका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले जानकारी दिए।

स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक संघले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो।

उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न संघले आफ्नो तर्फबाट रकम संकलन गर्न सुरु गरेको छ। सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम संकलन भएको छ।

सुरुवातमै निकै उत्साहपूर्वक स्वतस्फुर्त रकम संकलन भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघसंस्था र व्यक्तिबाट रकम संकलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूल धन पुर्‍याउने लक्ष्य लिइएको संघका अध्यक्ष श्रेष्ठले बताए। उनले उक्त पुरस्कार वितरण गर्नका लागि एक कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने स्पष्ट पारे।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्