इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमी इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेकाे बताइएको छ।
इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको हाे। आइएनएका अनुसार उनी अर्को हप्ता इरान र साउदी अरेबिया जानेछन्।
प्रधानमन्त्री मुस्तफा अल कादिमीले ती देशमा गएर त्यहाँका नेताहरूसँग प्रत्यक्ष वार्ता गर्ने समाचार समितिले जनाएको छ।
उनी पहिला इरान पुग्ने र इरानका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानेछन्।
यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयाहरूमा वार्ता अघि बढाइने बताएका थिए।
क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरूको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ। इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरूसँग वार्ता निरन्तर गरेको थियो।
साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउण्डमा वार्ता गरेको थियो। आणविक ऊर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाद जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो।