विश्वकप लिग–२

स्कटल्याण्डमा हुने क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

फाइल तस्बिर।

काठमाडौँ – क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो।

घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अधिकांश अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन्। पवन सर्राफले टोलीमा पुनरागमन गर्दा वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन्।

सागर ढकाल र सुसन भारी भने टोलीबाट बाहिरिएका छन्। नेपाली टिममा कप्तान लामिछाने र उपकप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी रहेका छन्।

नेपालले स्कटल्याण्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिवियासँग खेल्नेछ। त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ। स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिवियाविरुद्ध खेल्नेछ। नेपाल र नामिवियाबीचको खेल जुलाई ११ मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिवियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।

नेपाल लिग २ तालिकाको पाँचौ स्थानमा रहेको छ। नेपालले १६ खेलबाट सात जित, आठ हार र एक बराबरीसहित १५ अंक जोडेको छ।

तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोड्दा छैटौँ स्थानमा रहेको नामिवियाले १४ खेलबाट १४ अंक जोडेको छ। आईसीसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्