नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

फेरि बढ्न थाल्यो कोरोना

विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण पछिल्लो समय ७००००० पुगेको छ भने दैनिक कोरोना मृत्यु पनि ७००बाट १५०० नाघेको छ।

पछिल्लो समय विश्वमा कोरोना संक्रमणमा फेरि केही वृद्धि देखिनुमा अमेरिका र युरोप नै अगाडि छन्। अमेरिकामा हाल दैनिक १ लाख हाराहारीमा नयाँ संक्रमण र २००–३५० को हाराहारीमा दैनिक कोरोना मृत्यु देखा पर्ने गरेको छ। त्यस्तै, पछिल्लो समय ब्राजिलमा फेरि एक पटक नयाँ प्यान्डेमिक लहर सुरु भई दैनिक संक्रमणमा वृद्धि भई २०००० बाट ६०००० नाघेको छ भने दैनिक मृत्यु पनि ५० बाट ३५० पुगेको छ।

युरोपेली देश जर्मनी, फ्रान्स, इटाली आदिमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दुवै उल्लेख्य रूपमा देखापरिरहेका छन्।
यसै क्रममा दक्षिण एसियामा पनि पछिल्लो समय दैनिक कोरोना संक्रमणमा उल्लेख्य वृद्धि भएको छ।

दक्षिण एसियाका अधिकांश देशमा पछिल्लो समय कोरोना संक्रमणमा निकै वृद्धि भएको छ भने दैनिक मृत्युमा भने हालसम्म खासै ठूलो फरक देखिएको छैन।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देयश्य कोरोनासम्बन्धी तथ्यांक सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामापछिल्लो अवस्थामा कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ।

दक्षिण एसियाको पछिल्लो ४ हप्ता,सन् २०२२ मे २५ देखि जुन २२, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो ४ हप्ताको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको पवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा निकै वृद्धि हुँदै गएको पाइएको छ।

एक महिनाअघि २००० जति रहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण १३५०० नाघेको छ। तर, दैनिक मृत्युमा भने सामान्य तलमाथि मात्रै भएको देखिन्छ ।


चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो समय भारतको दैनिक कोरोना संक्रमणमा करिब एक महिनाअघिको तुलनामा पाँच गुणाभन्दा धेरै वृद्धि भई दैनिक करिब १२५०० नाघेको छ भने बंगलादेशमा पनि दैनिक संक्रमणमा कैयौं गुणाले वृद्धि भई दैनिक करिब ११०० नाघेको छ।

पाकिस्तान, अफगानिस्तान र नेपालमा पनि दैनिक कोरोना संक्रमण केही बढेको पाइएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका कुनै पनि देशमा दैनिक मृत्युमा भने वृद्धि हुन खोजेको लक्षण हालसम्म खासै देखिएको छैन।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्सहप्किन्स विश्वविद्यालयका अनुसार ४ हप्ताको बीचमा भारतमा दैनिक कोरोना संक्रमण दर ०.५% बाट २.८%नाघेको छ भने बंगलादेशमा २.५% बाट २५% नाघेको छ।

त्यस्तै, दैनिक संक्रमण दर अफगानिस्तानमा ४% र पाकिस्तानमा १.६% पुगेको छ। स्मरण रहोस्, संक्रमण दर ५% भन्दा धेरै हुनु डब्लुएचका अनुसार प्यान्डेमिक अनियन्त्रित हुनु हो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्याहो। सन् २०२२ जुन १९ देखि २५ अर्थात ०७९ साल असार ५ देखि ११) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, असार ११गते शनिबारसम्म, देशभरि १६८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या९७९५१२पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ९३ र तीन हप्ता अघि ६० थियो । त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु११९५२मा स्थिर छ।

गत हप्ता जम्मा १०४४५ पिसिआर परीक्षण गरियो जुन दुई हप्ताअघि १३४३९ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ७१.८१% संक्रमण देखियो जुन दुई हप्ताअघि७२.०९%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्येपोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कतिजनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम०.८१%देखि अधिकतम२.६७%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १.७१% रह्यो जुन दुई हप्ताअघि ०.७१% थियो।

नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आए पनि गत हप्ता संक्रमण दरमा वृद्धि भएको छ।

चित्र न. ६ ले ४ हप्ताको नेपालको दैनिक पिसिआर परीक्षण, कोरोना संक्रमण संख्या र कोरोना संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै दुई हप्तामा नेपालको दैनिक कोरोना संख्या र संक्रमण दरमा उल्लेख्य वृद्धि भएको छ।

दैनिक परीक्षण भने कम हुँदै गएको छ। प्यान्डेमिक कालमा संक्रमण संख्या र संक्रमण दरसँगै परीक्षण पनि बढाउँदै लैजापर्नेमा उल्टो परीक्षण कम हुँदै गएको छ। त्यसको अर्थ यो पनि लाग्छ कि परीक्षण पनि बढाउंदै लाने हो भने वास्तविक संक्रमण संख्या र संक्रमण दर पनि हालको भन्दा अझै धेरै हुने निश्चित छ।

संक्षेपमा, पछिल्लो अवस्थामा अमेरिका र युरोपका केही देशमा संक्रमण संख्या र संक्रमण दर निकै बढेको छ। पछिल्लो समय दक्षिण एसियामा पनि दैनिक कोरोना संक्रमणमा निकै वृद्धि भएको छ।

बंगलादेशमा दैनिक संक्रमण दर निकै उच्च, २५% भन्दा धेरै छ भने अफगानिस्तान, भारत र पाकिस्तानमा पनि संक्रमण दर बढ्दो छ।

नेपालमा पनि गत हप्ता नयाँ कोरोना संक्रमण र संक्रमण संख्या दरमा वृद्धि भएको देखिएको छ। नेपालमा एक महिनाअघिको तुलनामा दैनिक संक्रमणमा क्रमशः वृद्धि हुँदै गएको छ र संक्रमण दरमा उल्लेख्य वृद्धि भएको छ। जम्मा दैनिक पिसिआर परीक्षण विगतमा भन्दा केही कम गरिए पनि संक्रमण संख्या र संक्रमण दरमा पनि वृद्धि देखिएको छ जुन संक्रमण फैलिएको लक्षण हो।

यसरी अमेरिका, युरोप, दक्षिण एसिया र नेपालमा पनि संक्रमण संख्या र संक्रमण दरमा वृद्धि देखिनु प्यान्डेमिकको नयाँ लहरको सूचक हुन सक्छ। यद्यपि, नेपालमा हालसम्म संक्रमण संख्या र संक्रमण दर अन्यत्रको तुलनामा निकै न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न। यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ।

नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा यसमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्