दुुर्गम बस्ती मासपुरमा लिमिटेडको खाद्यान्न नपुगेको गुनासो

सिमकोट – दूरदराजको बस्ती मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको गुनासो स्थानीयले गरेका छन्।

लिमिटेडको खाद्यान्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यान्न बिक्री वितरणबारे मासपुरवासीलाई जानकारी नहुने भएपछि वञ्चित हुँदै आएका छन्।

ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका स्थानीय दानबहादुर बुढाले हालसम्म लिमिटेडको खाद्यान्न गाउँवासीले नपाएको गुनासो गरे।
गाउँपालिका केन्द्र छप्रेलामा रहेको बिक्री केन्द्र मासपुर गाउँबाट पुग्न एक दिन पैदल लाग्ने र केन्द्रबाट खाद्यान्न बिक्रीबारे जानकारी पनि नहुने भएपछि पाउनबाट वञ्चित हुँदै आएका हुन्।

अर्को कुरा जानकारी पाए पनि स्थानीयले धेरै दुःख गरेर खाद्यान्न खरिद गर्दा पाँच किलो मात्र पाउने गरेकाले पनि सो खाद्यान्नप्रति स्थानीयको चासो नहुने गरेको हो।

कतिपय स्थानीयलाई त बिक्री केन्द्रबाट ढुवानी अनुदानमा खाद्यान्न बिक्री हुन्छ भन्नेसम्म जानकारी नभएको पाइएको छ।

उनले दुर्गमका लागि लिमिटेडले ढुवानीको व्यवस्था गरेर गाउँ–गाउँमा पुर्‍याउने व्यवस्था गर्न मासपुरवासीको माग छ। अर्को कुरा कहिल्यै लिमिटेडको खाद्यन्न नपाउने मासपुरवासीका लागि निश्चित कोटाको व्यवस्था गर्नसमेत लिमिटेडसँग स्थानीयले माग गरेका छन्।

मासपुरका स्थानीय खाद्यान्न खरिद गर्नुपर्‍यो भने बाजुरा र हुम्ला जिल्लाको सिमान कवाडी पुग्ने गर्छन् । यसरी खाद्यान्न खदिर गर्दा साढे दुई दिन लाग्छ। चार वर्षदेखि छप्रोलामा बिक्री केन्द्र स्थापना भएर ताँजाकोट गाउँपालिकाका लागि खाद्यान्न बिक्री गरिँदै आएको छ।

लिमिटेडको सिमकोट शाखाले भने यसबारे जानकारी नभएको र बुझेर खाद्यान्न नपाउने मासपुरवासीलाई प्राथमिकतामा राखेर खाद्यान्न बिक्री गर्न बिक्री केन्द्रका इन्चार्जलाई निर्देशन दिने जनाएको छ।

चालु आर्थिक वर्षमा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट कोटा निर्धारण गरिएकोमा हालसम्म २७० क्विन्टल ढुवानी भएको छ।
त्यसैगरी, मासपुरका स्थानीय बासिन्दाले हालसम्म नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन पनि नपाएको गुनासो गरेका छन्।

उक्त गाउँवासीले नुन पनि कवाडी बजारबाट प्रतिकेजी २५ रुपैयाँ तिरेर खरिद गर्दै आएको छ। जबकि कर्पोरेसनको ढुवानी अनुदानको नुन हुम्ला प्रतिकेजी नौ रुपैयाँमा पाउने गर्छ। मासपुर गाउँमा २३ घरधुरीको १५० भन्दा बढी जनसंख्या छ ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्