अमेरिकामा अध्ययनरत विद्यार्थीद्वारा सिनेमा पढ्नेलाई छात्रवृत्ति

काठमाडौँ- अमेरिकाको आर्लिङटन, टेक्सस स्थित विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘नेपाल फिल्म क्याम्पस’मा फिल्म स्टडिज स्नातक तह अध्ययन गरिरहेका २ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताएका छन्।

उनीहरूले दुई गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरी ६ महिनाको सम्पूर्ण कलेज शुल्क तिरिदिने भएका हुन। हरेक वर्ष परीक्षा उत्तीर्ण गरे त्यो छात्रवृत्ति ४ वर्षसम्म कायम रहने सुनिल बिकले बताएका छन्।

‘ब्यान्डस स्कलरसिप’ नाम दिइएको उक्त छात्रवृत्ति कोष हालै स्थापना भएको हो। यो कोष स्थापना गर्न विजय पराजुली, अनुभव गौतम, नरेश ढुङ्गाना, दीप खड्का र सुनिल बिक ले पहल गरेका हुन्। आफूले नेपालमा अध्ययन गर्दा थोरै पैसा पनि तिर्न नसकेर भोग्नु परेको तनाव सम्झँदै पढ्न मन हुने इमान्दार र मिहिनेती विद्यार्थीलाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने नरेश ढुङ्गानाले बताए।

‘हामीले थोरै पैसा सहयोग गर्दा त्यहाँ ठूलो फरक पर्छ। अब हामी केही पैसा कमाउन पनि थालेका छौँ। साथीहरू मिलेर केही गरौँ भन्ने भावले क्याम्पस प्रमुखसँग कुरा गरेका हौँ,’ विजय पराजुलीले फोन मार्फत जानकारी दिए।

पैसा तिर्न नसकेर अध्ययनमा सकस भई रहेका विद्यार्थीहरूप्रतिको समभाव नै कोष खडा गर्नु पर्ने कारण रहेको अनुभव गौतम बताउँछन्।

छात्रवृत्ति रकम र सङ्ख्या बढाउँदै लैजाने र अरू थुप्रै माध्यमबाट विद्यार्थीहरूलाई सहयोग गर्न चाहेको अर्का समुह सदस्य दीप खडकाले बताए। ब्यान्डसका सबै सदस्यहरू पढ्दै अमेरिकाका प्रतिष्ठित आईटी कम्पनीहरूमा कार्यरत छन।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्