शिक्षक नभएपछि विद्यार्थीले गरे तालाबन्दी

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकामा रहेको उच्च माध्यमिक विद्यालयमा शिक्षकको कमीका कारण पठनपाठन प्रभावित हुँदै आएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्।

नगरपालिकाको वडा नम्बर ९ विश्रामपुर टोलमा रहेको भंगी साह उच्च माध्यमिक विद्यालयमा धेरै दिनदेखि शिक्षकको कमीका कारण पठनपाठन प्रभावित भएपछि विद्यार्थीले आइतबार तालाबन्दी गरेका हुन्।

विद्यालयको मूल गेटमा आफ्ना माग टाँसेर विद्यार्थीले तालाबन्दी गरेका हुन्।

उनीहरूले विद्यालयमा सबै घण्टी पढाइ नहुने गरेको, विषयगत शिक्षकको कमीका कारण पठनपाठन असहज भएको भन्दै तालाबन्दी गरिएको विद्यार्थीले बताए।

विद्यालयमा कम शिक्षक भए पनि उनीहरूसमेत समयमा विद्यालयमा नआउने गरेको विद्यार्थीको भनाइ छ।

यसअघि पनि उक्त विद्यालयमा विद्यार्थीले तीन वर्षदेखि शिक्षकको माग राखी पटक–पटक आन्दोलन गर्दै आए पनि हालसम्म नगरपालिकाले समस्या समाधान गर्नेतर्फ कुनै ध्यान नदिएको स्थानीय कमोद निरालाले जानकारी दिए।

विद्यालयमा लामो समयसम्म विषयगत शिक्षकको कमी भएपछि आफूले एक वर्षसम्म निःशुल्क विद्यालयमा अध्यापन गराएको बताउँदै नगरपालिका तथा सम्बन्धित निकायसित समस्या समाधानको माग गरे।

विद्यालयमा दबरन्दीअनुसारका शिक्षक नहँुदा अहिले जम्मा चार जना शिक्षकले मात्रै अध्यापन गराउँदै आएका छन्।

उनीहरूले पूरै घण्टी पढाउँदासमेत अपुग हुने गरेको छ। विद्यालयमा लामो समयदेखि शिक्षकको कमी भएको बताउँदै प्रधानाध्यापक सुधाकर उपाध्यायले दरबन्दीअनुसार शिक्षक नहुँदा समस्या भएको बताए।

उनले विद्यार्थीले राखेको मागअनुसार शिक्षक व्यवस्था गर्न सोमबार नगरपालिकाका पदाधिकारीबीच बैठक हुने जानकारी दिए।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्