जी – ७ सम्मेलन: रुसी सुनमा प्रतिबन्ध लगाउने विषयमा छलफल

जर्मनीमा चलिरहेको जी – ७ का सदस्य देशहरुको ३ दिवसीय बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यूक्रेनमाथि रुसले आक्रमण गरिरहँदा पश्चिमा देशहरु सचेत हुनुपर्ने बताएका छन्।

जी ७ का सदस्य देशहरु शिखर सम्मेलनको लागि जुटेका छन्। यो शिखर सम्मेलनमा मुख्य रुपमा यूक्रेनमाथि रुसले गरेको आक्रमण र त्यसले विश्व स्तरमा खाद्य तथा उर्जा आपूर्तिमा पारेको नकारात्मक असरको बारेमा चर्चा गरिएको छ। यसका साथै विश्व अर्थव्यवस्थामा यो युद्धले पारेको प्रभावका बारेमा पनि जी-७ देशका नेताहरुले चर्चा गर्नेछन्।

जर्मनीमा भईरहेको यो शिखर सम्मेलनको सुरुमा ७ सदस्य देशहरुमध्ये ४ ले रुसमाथि लगाइएको प्रतिबन्धलाई अझै कडा बनाउनको लागि रुसबाट हुने सुनको आयातमा प्रतिबन्ध लगाउने र यूक्रेन अझ धेरै वित्तिय सहायता दिने विषयमा सहमति जनाए।

यो मुद्दामा सातै देश सहमत हुने नहुने भन्ने बारेमा बताइएको छैन। यो मुद्दा धेरै सावधानीको साथमा निर्णय लिने बताइएको छ।

बेलायती सरकारले आइतबार अमेरिका, जापान, क्यानडा र बेलायतले रुसबाट सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा सहमति भएको जनाएको छ। बेलायतले रुसमाथि लगाइएको प्रतिबन्ध सुनमा पनि लगाउँदा रुसलाई अझै असर पर्ने जनाएको छ।

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्