महिला क्रिकेट टोली स्वदेश फिर्ता, कप्तान रुविना भन्छिन्ः धेरैभन्दा धेरै अभ्यासको खाँचो छ

काठमाडौँ – अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सीमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसीपमा पनि अभागी सावित भयो।

एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र टाढा थियो। वर्षा बाधक बन्दा एशिया कप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन्।

सोमबार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन्।

मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसीपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमबार स्वदेश फर्कियो। उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन।

नेपाली टोलीकी कप्तान क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन्। उनले भनिन्, ‘सबै खेलाडीले खेल मैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो। योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो। हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो। बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनुपर्दा दुःख लागेको छ।’

कप्तान रुविना क्षेत्री।

टोलीमा अहिले केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान क्षेत्रीले निरन्तरको अभ्यास र धेरैभन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन्।

उनले भनिन्, ‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौँ। यो सल्लाह पनि भएको छ। भरसक सबै खेलाडी काठमाडौँमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौँ। आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौँ। यसका अलावा हामीलाई धेरैभन्दा धेरै प्रतियोगिताको खाँचो छ।’

मुख्य प्रशिक्षक जगत टमाटा।

मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै त्यसको जिम्मा आफूले लिने बताए। एसीसी र आईसीसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भए पनि नराखेमा गुनासो गरे। समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक टमाटाको भनाइ छ।

उनले भने, ‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौँ। दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो।’

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्