सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्।

सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए।

नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्।

उनले भनिन्, ‘हाम्रो बाबुबाजे नै सुकुम्बासी हुँदै आएका छौँ। दुई तीन पुस्ता नै सुकुम्बासीको रूपमा बिताइसकेका छाँै। अझै पनि हामीले आफ्ना लागि जग्गाको लालपुर्जा पाउन सकेका छैनाँै।’

सरकारले भूमिहीन सुकुमम्बासीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी मगरले सुकुम्बासीको विषयमा हेर्न सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगले समेत काम गर्न नसकेको आरोप लगाइन्।

आयोगले विभिन्न बहानामा भूमिहीनको समस्या समाधान गर्न आलटाल गरिरहेको उनको भनाइ छ।

सुकुम्बासीको समस्या हल गर्नुपर्ने राज्यको दायित्व भएको हँुदा हामीले आयोगदेखि सरकारसम्मलाई झकझकाउन प्रदर्शन गर्नुपरेको समाजकी सह–कोषाध्यक्ष मगरले बताइन्।

सुकुम्बासीको तर्फबाट पहिलो चरणमा महिलाले धनकुटाबाट मोरङसम्मको पदयात्रा गरेका छन्। उनीहरूले प्रदेश १ का भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीलाई १० बुँदे ज्ञापन पत्रसमेत बुझाएका छन्।

मोरङमा ३० हजार, सुनसरीमा ८ हजार ५ सय, झापामा ५ हजार र धनकुटामा ४ हजारभन्दा बढीको संख्यामा भूमिहीन सुकुम्बासी रहेको समाजले जनाएको छ।

 

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्