अविरल वर्षाका कारण बस्ती डुबानमा (तस्बिरसहित)

विराटनगर – विराटनगरमा बिहानबाट परेको अविरल वर्षाका कारण विभिन्न वडामा डुबान समस्या भएको छ।

महानगरको पूर्वतर्फ रहेको सिघियाँ खोलाका कारण वडा नम्ब- ८ को बालगोपाल चौकस्थित सुकुम्बासी बस्ती डुबानमा परेको हाे।

वडाअध्यक्ष राम पोखरेलका अनुसार खोलामा पानी बढेसँगै किनारमा बसोबास गर्दै आएका सुकुम्बासी डुबानमा परेका हुन्।

खोलामा पानीको सतह बढेसँगै हाल वडाले सबैलाई सुरक्षित रुपमा खुला चौरमा व्यवस्थापन गरेको उनले जानकारी दिए।

प्रभावित क्षेत्रमा करिब ४० देखि ४५ घर रहेको बताउँदै वडाध्यक्ष पोखरेलले बस्तीलाई जोगाउनका लागि यसअघि महानगरदेखि प्रदेश १ सरकारसम्म पटकपटक तटबन्ध निर्माणको कुरा गरेपनि त्यसले सार्थकता नपाएको गुनासो गरे।

त्यसैगरी, महानगरपालिकाको वडा नम्बर ९ स्थित हिमालय रोडमा समेत पानी जमेको छ। ट्राफिक चौकबाट महेन्द्र चौकसम्मको निर्माणाधीन सडक खण्डको दक्षिण भागमा पानी जम्दा व्यवसायी तथा पैदलयात्रुलाई समस्या भएको ब्यवसायी राकेश मैनालीले बताउँछन्।

महानगरको सडक डुबान(केही तस्बिरहरु)

मैनालीले भने, ‘महानगरको विभिन्न निकायमा हामीले नाला र सडकमा बनाइएको प्वाल सफा गर्न भन्दै आएका थियौँ। तर त्यो हुन नसक्दा अहिले सडकको दक्षिणतर्फको पसल डुबानमा पर्ने हो कि भन्ने चिन्ता भएको छ।’

अर्कोतर्फ, जिल्ला प्रहरी कार्यालय मोरङको भवनमा समेत पानी पसेपछि खुला चौरमा १० वटा टेन्ट राखेर सामान सारिएको छ। मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार पूर्वतर्फको भवनमा पानी पसेपछि अहिले कार्यालयको दक्षिणतर्फ खुला चौरमा टेन्ट राखेर सामान सार्ने काम भइरहेको हो।

यससँगै बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा डुबान भएपछि इमरजेन्सी सेवा अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार ग्रामथान गाँउपालिकातर्फ जाने सडकखण्डमा समेत ह्युमपाइप बगाउँदा आवतजावतमा समस्या भएको छ।

सिंघिया खोला उर्लिएको स्थिती

यद्यपि, हाल डाइभर्सन गरिएको उनले बताए। त्यसैगरी, वडा नम्बर २ स्थित एक विद्यालय डुबानमा परेको छ। विद्यालय डुबानमा परेसँगै प्रधानाध्यापक दुर्गा पोखरेलले पानीको निकासका लागि स्थानीय तह गुहारेका छन्।

महानगर -२ स्थित विद्यालय डुबान

असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्