अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ – गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन्।

लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताए।

उनले भने,‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ।’ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए। हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन-तीन गरी ६, वडाध्यक्षका उमेदवार १४ र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उम्मेदावर बनेका कुनैपनि उमेदवारले खर्च विवरण बझाएका छैनन्।

असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्