प्रहरीद्वारा बाँकेको नरैनापुरमा १८५ किलो गाँजा बरामद

नेपालगञ्ज – बाँकेको नरैनापुरमा भुस र गहुँभित्र लुकाएर राखेको १८ बोरा (१८५ किलो) गाँजा बरामद भएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, भगवानपुरबाट गएको प्रहरी टोलीले नरैनापुर गाउँपालिका वडा नं. ६ को चौविस विगाह र दोन्द्राका अनिता मौर्य, चिम्मन अहिर र मन्ते भन्ने रामदास मौर्यको घरमा छापा मार्दा गहुँ र भुसभित्र लुकाइ राखेको गाँजा फेला परेको हो।

प्रहरीले अनिता मौर्य र पारस मौर्यलाई नियन्त्रणमा लिएको छ। अरु दुई जना फरार रहेका छन्।

बाँकेका विभिन्न नाकाबाट गाँजा, अफिम, चरेश भारत सप्लाइ हुने गर्दछ। नरैनापुर गाउँपालिका भारतसँग जोडिएको छ। दर्जनौँ छोटी नाका छन्।

असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्