दाङमा अहिलेसम्म १० प्रतिशत क्षेत्रमा धान रोपाई

दाङ – दाङमा गएको वर्ष असार १५ भित्र जिल्लामा झण्डै ७० प्रतिशत धान रोपाई सकिएको थियो । तर, यसपाली भने जम्मा १० प्रतिशत मात्रै धान रोपाई भएको छ । असार लागीसक्दा पनि पश्चिम क्षेत्रमा ढिलोगरी वर्षा भित्रिएको छ । जसले गर्दा यसपालीको धान रोपाई ढिला भएको छ ।

आकाशेपानी पानीको भरमा धान रोप्ने ठाउँमा खेती सुरु हुन सकेको छैन । नदी तथा खोलाको पानीबाट सिंचाई हुने क्षेत्रमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । ‘गत वर्ष यो समयमा ७० प्रशित धान रोपाई सकिएको थियो । यसपाली जम्मा १० प्रशित रोपाई भएको छ’ उनले भने– ‘राम्रोसँग पानी नपर्नु, किसानले समयमा मल नपाउनु जस्ता समस्याले खेतीमा असर परेको छ ।’ जिल्लामा अहिले सम्म ३ हजार ९ सय ४० हेक्टर क्षेत्रमा धान रोपिएको छ ।

राप्ती नदीको पानीले सिंचाई हुने देउखुरी क्षेत्रमा धान रोपाई अन्तिम अवस्थामा पुगेको छ । प्रगन्ना कुलो सिंचाई आयोजना, अर्जुनखोला सिंचाई आयोजना र केही भूमिगत पानीले सिंचाई हुने क्षेत्रमा धान रोपाई सकिन थालेको हो । जिल्लाको पश्चिम क्षेत्रमा बबई नदीको पानीले सिंचाई पुगेको क्षेत्रमा पनि धान खेती गरिएको छ ।

सिंचाईको सुविधा राम्रोसँग पुगेको ठाउँको रोपाई धमाधम भइरहेको छ । जहाँ सिंचाईको सुविधा छैन्, त्यहाँ धान खेती हुन सकेको छैन् । जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जस मध्य ३० हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जिल्लामा ३० प्रतिशत जमिनमा सिंचाई सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिंचाई सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशीक सिंचाईको व्यवस्था छ ।

मल विनाको असार १५

सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ । यस पटक पनि असार १५ को अवसरमा दाङ सहित देशभर औपचारीक कार्यक्रमको आयोजना गरेर धान दिवस मनाउन थालिएको छ । तर, यसपाली किसानले मल विना असार १५ मनाउनुपर्ने बाध्यात्मक अवस्था छ । जिल्लामा रासायनिक मल छैन् । किसान रासायनिक मल विना धान रोपाई गर्न बाध्य छन् । ‘धान खेती मच्चिएको छ । तर, मल छैन्’ किसान हरिराज धितालले भने– ‘मल विनाको के को धान दिवस ।’

धान खाद्यान्न उत्पादनको प्रमुख बाली हो । तर, सरकारले धान खेतीको लागी चाहिने रासायनिक मलको प्रवन्ध गर्न सकेको छैन् । जसले गर्दा धान खेती गर्ने किसान मर्कामा परेका छन् । जिल्लामा अनुदानमा पाइने रासायनिक मल छैन् । बजारमा आएको महंगो र जस्तो पाए त्यस्तै मल प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यतामा किसान छन् ।

यसपाली यूरिया मलको चरम अभाव छ । वर्षे धान र मकै खेतीको लागी भित्रिनुपर्ने यूरिया मल भित्रिएको छैन् । डिएपी र पोटास केही आएपनि त्यो किसानको लागी प्रयाप्त छैन् । जिल्लामा तत्काल १५ सय टन यूरिया र एक हजार टन डिएपी मल आवश्यक रहेको कृषि सामाग्री कम्पनी लिमिटेड दाङका प्रमुख टिआर गौतमले जानकारी दिए । ‘मलको अभाव छ । किसानहरु समस्यामा हुनुहुन्छ’ उनले भने– ‘माथिल्लो तहबाट प्रयासहरु भइरहेका छन् । यूरिया टप गर्ने बेला सम्म मल आईपुग्छ की भन्ने हो ।’

धान रोप्ने बेलामा यूरिया चाहिदैनः कृषि विज्ञ

धान रोपाईको बेलामा यूरिया आवश्यक नपर्ने कृषि विज्ञले बताएका छन् । धान रोपाइएको बेलामा डिएपी र पोटास भए पुग्ने, धान रोपेको २५ देखी ३० दिन भित्र भने यूरिया मल अनिवार्य छर्नुपर्ने सल्लाह कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताए । ‘विभिन्न अनुसन्धानबाट पत्ता लागेको कुरा के हो भने हिलोमा छर्ने यूरिया खेर जान्छ । धान रोप्ने बेलामा डिएपी र पोटास अनिवार्य जस्तै चाहिन्छ’ उनले भने– ‘धान रोपिसकेपछी २५–३० दिनमा यूरिया छर्नुपर्छ । यसले बालीलाई सपार्ने काम गर्छ ।’ यूरिया मल भएन भनेर धान खेती रोक्न नहुने सल्लाह उहाँको छ ।

मेसिनबाट धान रोपिदै

मेसिनबाट धान रोप्ने क्रम जिल्लामा सुरु भएको छ । पछिल्ला वर्षहरुमा मेसिनबाट धान रोप्ने अभ्यास थालिएको छ । कृषि ज्ञान केन्द्र सम्बद्ध निकायको सक्रियातामा मेसिनबाट धान रोप्ने गरिएको छ । यसपाली जिल्लाका दश पालिका मध्य केही पालिकामा मेसिनबाट धान रोपेर धान दिवस मनाउन थालिएको छ ।

राजपुर गाउँपालिका–२ मटेरियामा सूर्याेदय बहुउद्देश्यीय सहकारी संस्थाले करिब एक विगाहमा मेसिनबाट धान रोप्न थालेको हो । किसानलाई यान्त्रीकरणमा आकर्षीत गर्र्ने उद्देश्यले मेनिबाट धान रोप्ने कार्यक्रम राखिएको छ । जिल्लाका दश स्थानीय सरकारले धान दिवसको अवसरमा रोपाई कार्यक्रम राखेका छन् ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्