राष्ट्रिय धान दिवसमा धान सुपरजोन जिल्लाका किसानको पीडाः न मल, न क्षतिपूर्ति

झापा – आज राष्ट्रिय धान दिवस। झापाका किसान यस वर्षको धान दिवसमा खासै उत्साहित छैनन्। गत कात्तिक महिनामा बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको क्षतिपूर्ति पनि नपाएको र अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभावका कारण किसान उत्साहित नभएका हुन्।

झापा अर्जुनधारा ६ की  किसान रमा निरौलाका अनुसार स्थानीय तहमा धानबालीमा भएको क्षतिबारे विवरण संकलन बुझाए पनि अहिलेसम्म क्षतिपूर्ति किसानले पाएका छैनन्।

उनले भनिन्, ‘हामीले क्षतिको विवरण बुझाएको पनि धेरै भइसक्यो। के पाइने हो अहिलेसम्म थाहा छैन।’

स्थानीय तहहरूबाट विवरण संकलन गरेर जिल्लाको विपद व्यवस्थापन समितिमार्फत् संघीय सरकारमा विवरण पठाएको भए पनि अहिलेसम्म क्षतिको रकम प्राप्त हुन नसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए।

उनले भने, ‘गृह मन्त्रालयबाट रकम निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पुग्या छ रे। तर कहिले आउने हो थाहा छैन।’

धानको ब्याड राख्ने बेलादेखि नै धान सुपरजोन जिल्ला झापालगायत देशभरका किसान रासायनिक मल अभावका कारण चिन्तित बनेका छन्।

हातमा पैसा बोकेर मल किन्न जाँदा पनि किसानले धानको ब्याड राख्न समेत रासायनिक मल पाउन सकेका छैनन्। सरकारले हरेक बर्षको बजेट भाषणमा किसानलाई समयमा मल उपलब्ध गराउने वाचा गर्छ। तर मल दिने बेलामा निरीहता प्रकट गर्छ।

विगतमा जस्तै यो वर्ष पनि धानबालीमा लगाउने रासायनिक मल अभावका कारण किसान मर्कामा परेका छन्। बुद्धशान्ति २ झापाका किसान मानसिंह राईका अनुसार रासायनिक मलविना नै किसान धान खेती गर्न बाध्य छन्।

उनले भने, ‘अलि-अलि पहुँच हुनेले पाए। हामी लडाइँ गर्न सक्दैनौँ।’

विगत केही वर्षदेखि किसानले धानबालीमा लगाउनका लागि पर्याप्त रासायनिक मल पाएका छैनन्।

खेतीको चटारो बढ्दै जाँदा किसान रासायनिक मलविहीन अवस्थामा पुगेका हुन्।

धान खेतीको सुरुवाती बेलादेखि नै किसानले उत्पादन बढाउनका लागि रासायनिक मलको प्रयोग गर्ने गरेका छन्।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्