मोरङमा बाढीले ३ सय ५० घर डुबे, एकको शव फेला

फाइल तस्बिर

मोरङ – अवरिल वर्षाका कारण मोरंगमा ३ सय ५० बढि घर डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार बुधबार बिहानसम्म जिल्लाका विभिन्न स्थानमा गरि ३ सय ६७ वटा घर डुबानमा परेको हो। प्रहरी कार्यालय मोरंगका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार मोरंगको सिंघिया खोलाका कारण ३ सय ५९ वटा घर डुबानमा परेको छ।

उनका अनुसार वर्षाका कारण सिंघिया खोलामा पानीको सहत बढेपछि कटहरी गाउँपालिका १, विराटनगर महानगरपालिका ८, ७, जहदाँ गाउँपालिका १, २ र बुढीगंगा गाउँपालिका १ मा सो संख्यामा घर डुबानमा परेको हो।

सिंघिया खोलाका कारण हालसम्म १ हजार ३ सय ३५ परिवार संख्या प्रभावित भएका छन्। प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार जहदाँ गाउँपालिकामा डुबानबाट प्रभावित ४ सय ५० परिवार संख्या भने खोलामा पानी कम हुदै गएपछि आफनै घर फर्किएका छन्।

योसँगै हालसम्म जिल्लाभरी डुबान र बाढीका कारण १ हजार ३ सय ६८ परिवारसंख्या प्रभावित भइसकेको प्रहरीले जनाएको छ। उनीहरुलाई सुरक्षित स्थलमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकामा बाढी डुबान हुँदा स्थानीय प्रभावित भएका छन्।

त्यसैगरी, विराटनगर महानगरपालिका ६ मा नालामा एक पुरुषको शव फेला परेको छ। मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार मंगलबार राति करिब सवा ११ बजेतिर महानगर ५ का ३० वर्षीय सन्तोष मण्डलको शव नालामा आधा भाग डुबेको अवस्थामा फेला परेको हो। हाल प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा पुर्‍याइएकाे छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्