डुम्रे-बेँसीसहर सडक अवरुद्ध

फाइल तस्बिर

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

उनले भने, ‘वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला-ठूला ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन्।’

त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ। सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन्।

त्यहाँ असार लागेयता मात्र सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ।

मंगलबार बाढी-पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ। डुम्रे-बेँसीसहर सडक ४२ किलोमिटर लामो छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्