नेपाली चलचित्रमा खेल्दै ब्रह्मानन्दम

काठमाडाैँ- नीता फिल्मसकाे ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्।

अभिनेत्री निता ढुंगानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा ब्रह्मानन्दम अनुबन्धित भएका हुन्। निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा रहने चलचित्रमा चन्द्र पन्तको निर्देशन रहनेछ। निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका छन्।

कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै चलचित्र खेल्ने जीवित कलाकारको गिनिज वल्ड रेकर्ड होल्डर हुन्। तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः चलचित्रमा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन्।

ब्रहमानन्दमले धेरै चलचित्र अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ‘सूर्यवंशम’ गरेयता बलिउडका समेत कुनै चलचित्रमा खेल्न तयार भएका छैनन्।

यसअघि यो चलचित्रका सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाइ’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ’अली’समेत अनुबन्धित भइसकेका छन्। चलचित्रमा बलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ।

नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन्। यो चलचित्रमा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन्। चलचित्रकाे हाल स्क्रिप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए।

दशैँपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ। यो फिल्मलाई संसारकै ठूलो फिल्म सिटी ‘रामोजी स्टुडियो’ मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ।

 

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्