जुरे पहिरोको आठ वर्ष, आफ्नै नाममा उठेको राहत रकम समेत पाएनन् पीडितले

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए ।

आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् ।

हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुप¥यो । जत्तिबेलै यो पीडाले पोलिरहन्छ ।’ घटना सम्झिनासाथै सरिताको आँखा आँशुले भरिन्छ ।

सरिताले एक सन्तानलाई जन्म पनि दिएकी छिन् । उनकी छोरी अहिले चार वर्षकी भइन् । सरिता यही छोरीसँग खेल्दै, रमाउँदै विगतका पीडालाई भुल्ने प्रयत्न गर्छिन् ।

पहिरोले जायजेथा बगेको दृश्य बिर्सन खोजे पनि यहाँका पहिरो पीडितहरूले बिर्सन सकिरहेका छैनन् । पहिरोपछि उनीहरूको बासस्थान टहरोमा भएको छ ।

सरिता भन्छिन्, ‘जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।’

यस्तै, सरस्वती बोहोराको पनि जुरे पहिरोले घरदेखि खेतबारी पहिरोमा परेको थियो । उनको परिवार सुकुम्बासी जस्तै भएको छ । उनीहरू अहिले अरनिको राजमार्गको किनारामा भुकम्प पीडित अनुदानबाट आएको पैसाले टहरा बनाएर बसिरहेका छन् । तर, बर्खामा सुनकोसी नदी उर्लिएर आउँदा किनारैमा रहेको टहरो बगाउला की भन्ने पिरलो परिरहन्छ ।

पहिरोपीडित सुनकोसीमा पानी बढ्दा तर्सिन्छन्

सुनकोसीमा पानीको सतह बढ्नासाथै उनीहरू पोकापन्तरा बोकेर खुल्ला पाखातिर लाग्छन् । पहिरोले उठिबास लगाएका यहाँका विस्थापितलाई अहिले पनि सुनकोसी बाढीको त्रास छ ।

यता, जुरे पहिरो पीडितको नाममा संकलित रकम आठ वर्षसम्म सरकारी खातामा मै रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएको बेला आफ्नो लागि संकलन भएको रकम नपाएकोमा दुःख लागेको बताउँछिन बिनिता लामा ।

पहिरो पीडितका लागि तत्काल विभिन्न देशमा रहेका व्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।

जुरे पहिरो पीडितलाई पनि भुकम्प पीडित सरह मानेर सरकारले आवास निमार्णको लागि तीन लाख रकम दिएको थियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गर्न भने सरकारले सकेन ।

यति लामो समय हुँदा पनि वास्तविक पीडित को को हुन् भन्ने निक्र्यौल स्थानीय तहले गर्न सकेन् । १४ मंसिर ०७६ को मन्त्रीपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिरो पीडितको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक फोकल पर्शन श्यामकृष्ण श्रेष्ठले बताए ।

आठ वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । लामो समय बितिसक्दा पनि पीडितको समस्या भने ज्यूँका त्यूँ छ ।

–न्यूज कारखाना 

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्