‘कानेगुजीवाला’ बाट सुरु भएको मुरलीधरको यात्रा ( भिडियो )

तिनताक मुरलीधर शास्त्रीय संगीत पढ्न मुम्बई गएका थिए। बाबुको इच्छालाई शिरोपर गर्दै भारत गएका मुरलीधरको संगीतमा संघर्ष शुरु हुँदै थियो। संगीतको पढाइको क्रममा मुम्बईमा भएका बाक्लो नेपालीमाझ उनी परिचित थिए।

स्वर्गीय हिमानी लोहनी त्यतिबेला मुम्बईमा फिल्मस्थान स्टुडियोमा कोर्स गरिरहेका थिए। त्यहीँ लोहनीले नाटक प्रस्तुत गर्न लागे। उनलाई काम नपाएको संगीतकारको पात्र चाहिएको थियो। उक्त पात्रको प्रस्ताव मुरलीधरलाई आयो। अनि मुरलीधरले काम नपाएर ‘कानेगुजीवाला’ बनेको संगीतकार’ को भूमिका निर्वाह गरे। त्यो शो हिट भयो, लोहनी सफल भए। मुरलीधरले कलाकारको रूपमा नाम बनाए।

नेपालका केही निर्देशकले पनि यो शो हेरेका थिए। त्यहीँ भीडमा प्रचण्ड मल्ल पनि थिए। केही वर्षपछि प्रचण्डले नाटकको कथाअनुसार मुरलीधर पात्र ठीक हुने ठाने। संयोगले मुरलीधर नेपाल आएको समय परेछ।

त्यतिबेला रोयल नेपाल एकेडेमीमा शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको नाटक ‘पहाड चिच्याइरहेछ’ मञ्चनको तयारी भइरहेको थियो। प्रचण्ड मल्ल र विजयबहादुर मल्ल मुरलीधरलाई खोज्दै हिँडे। उनीहरूले जमलमा पिपल रूखको फेदमा बसेर पत्रिका पढिरहेको मुरलीधरलाई भेटे र नाटकको पात्र छनौटको लागि लगे। नाटकघरमा उनलाई संवाद दिइयो र बोल्न लगाइयो।

‘मैले पहिला पात्रको पृष्ठभूमि र संवाद कहाँ प्रयोग हुन्छ भनेर बुझेँ। त्यसपछि आफ्नै अन्दाजमा संवाद बोलेँ’, मुरलीधर सम्झन्छन्, ‘धेरै जनाले थप्पडी पिटे, ताली बजाए। केहीले गुनासो पनि गरे, मेरो बोलीमा प्रस्ट नेपाली लवज सुनिएन भनेर विजयबहादुर मल्लले मेरो अवस्था बुझ्नुभयो र सबैलाई सम्झाउनु भयो अनि म छानिएँ।’

मुरलीधर यसरी अभिनय क्षेत्रमा आएका हुन्। तर, उनको परिचय यो क्षेत्रमा मात्रै खुम्चिएको छैन। उनी गायक बन्न मुम्बई गएका थिए, तर सिंगो कलाकारिता क्षेत्रको धेरैजसो ठाउँमा आफूलाई अटाउन सफल भए।

भारतमा संगीत सिक्न जाँदा सुरु भएको उनको अभिनययात्रा रंगमञ्चबाट बलिउड अनि नेपाली चलचित्र क्षेत्रमा मौलायो। उनी आफैँले मैथिली चलचित्र लेखेर निर्देशन पनि गरिसकेका छन्।

मधेसमा जन्मिएका मुरलीधर मिझार विद्यालय जाँदा बाटोमा चलचित्र छायाँकन भएको सूचना पाउँछन्। साथीको साथ लागेर सुटिङस्पटमा जाँदा उनलाई कलाकारबाट टाढा राख्न धक्का दिइन्छ। त्यसपछि मनमनै प्रण गरेर बालक मुरलीधरले भन्छन्, ‘म अब अरूको सुटिङ हेर्न जान्नँ। आफ्नो सुटिङ हेर्न अरूलाई बोलाउँछु।’

यही प्रण लिई अगाडि बढेका मुरलीधर आफ्नो ठाउँमा प्रख्यात हुन्छन्। गाउँमा हुने मेला महोत्सवमा प्रख्यात भइसकेपछि उनले आफ्नो नाममा कलाकर्म जोडे र आफूलाई ‘मुरलीधर सावरिया’ का रूपमा चिनाए।

गाउँमा मुरलीधर सबैका हिरो थिए, तर चलचित्र क्षेत्रले भने उनलाई भिलेनको रूपमा चिनाइदियो।

‘मुख्य कुरा चरित्र हो, हिरो होस् या भिलेन’, उनले भने, ‘मुम्बई पुगेपछि परिस्थिति फेरियो, मैले सावरिया नाम हटाइदिएँ।’

बलिउड यात्रा

गाउँका हिरो मुरलीधर मुम्बईमा बाबु नथुनी मिझारको इच्चाअनुसार संगीत पढ्न गए । उनले पद्मभूषण संगीतमार्फत् पण्डित जसराजसँग संगीत सिक्न थाले। उनी नेपाली कलाकार टीका पहारी जाे भारतमा टीका सिंह नामले परिचित छन्, उनका साथै उदित नारायण झा, शम्भु प्रधान एकै फ्ल्याटमा बस्थे।

इप्टा ‘इन्डियन्स पिपुल्स थिएटर एसोसिएसन्स’ मार्फत् बक्री भन्ने नाटक आयो। यो पोलिटिकल सटाएर थियो। त्यसमा सुत्रधार चाहिएको थियो। टीका पहारीले मुरलीधरलाई लगे। त्यहाँ पनि उनले थुप्रै नाटक गरे। सवाना आजमीलगायतका भारतका दिग्गज कलाकारको सुरुवाती समयमा मुरलीधरले सँगै काम गरेका छन्। त्यहीँ पृष्ठभूमिले उनलाई बलिउडमा स्थान दियो।

‘मैले जति पनि चलचित्रमा काम गरेको छु, संघर्ष गरेर पाएको हैन। नाटक हेर्न आउँदा निर्देशकले चिन्थे, त्यसरी नै काम पाएको हुँ’, उनले भने, ‘जुन लक्ष्य लिएर म त्यहाँ पुगेको थिएँ। त्यसको लागि धेरै प्रयास गर्दा पनि राम्रो भइरहेको थिएन।’

सन् १९९१ मा ‘देवकी’ चलचित्र बन्ने भयो। धेरै संघर्षपछि मुरलीधरले बल्ल त्यो चलचित्रमा  संगीत निर्देशकको रूपमा काम गर्न पाए। त्यो नै उनको पहिलो ब्रेक भयो।

‘चलचित्रको गीत ‘चिसोचिसो गोरेटोमा हिउँपर्ला जस्तो छ’ बोलको गीतमा मैले स्वर दिएको थिएँ’, उनले भने, ‘यो चलचित्र नै हिट थियो।’

पछि उनले बलिउडको चर्चित चलचित्र मिस्टर इन्डियामा चिकित्सकको भूमिका निभाएका छन्। त्यो चलचित्रमा उनको भूमिका काटिएको बारे उनका धेरै गुनासो रहेका छन्।

यसरी बनेको थियो ‘उडायो सपना सबै हुरीले’

मुरलीधरको एउटा असाध्यै लोकप्रिय गीत छ, ‘उडायो सपना सबै हुरीले।’ यो कालजयी गीतको शब्द मर्मस्पर्शी छन्, प्रायः असफलतामा सम्झनामा आउने यो गीतको रचना गर्भ पनि असफलतासँग नै जोडिएको छ।

यो गीत रचनाको समयमा गायक मुरलीधरको सपना पनि हुरीले उडाएकै थियो। ठ्याक्कै मिति त सम्झिन सक्दैनन् उनी, तर सपना टुटेको भने स्पष्टसँग सम्झन्छन्।

रोयल नेपाल फिल्म कर्पोरेसन र भारतको एक ‘शोभा डक्टर’ सँग सहकार्य गरी एउटा चलचित्र बनाउँदै थिए। त्यतिबेला मुरलीधरको ‘सम्झना’ चलचित्र हिट थियो। चलचित्रका निर्देशक बासु भट्टाचार्यसँग मुरलीधरको राम्रो सम्बन्ध थियो। त्यहीबेला नेपाली कलाकारलाई पनि चलचित्रमा लिने कुरा आयो।

‘काठमाडौँको शंकर होटलमा बसेर हामी ड्रिङ्क्स गर्दै थियौँ। त्यो दिन मलाई दिने भनिएको भूमिका अर्कैलाई दिने भनियो’, मुरलीधरले भने, ‘तीन पात्रको मुख्य भूमिका रहेको चलचित्र हो। तपाईं मलाई बाहिर निकाल्दै हुनुहुन्छ भनेर बाझाबाझ भयो। र, म राति नै होटल छोडी चलचित्रमा काम गर्दिनँ भनी निस्किएँ।’

काठमाडौँमा मुरलीधरका दाजु मदनको घर थियो। उनी रन्थनिएर त्यहाँ पुगे।  मुरलीधर जतिखेर पनि झोक्राएको देखेर उनका दाइले ‘तिमीले गीत नगाएको धेरै भयो, रेडियो नेपालमा गएर गाऊ न’ भनेपछि मुरलीधरले डेट लिए।

अनुहारमा चमक ल्याउँदै मुरलीधर त्याे दिन  सम्झिन्छन्, ‘मदन परियार हुनुहुन्थ्यो। रेडियो नेपालका धेरै मानिस मनिटर रुममा आएर उभिनुभयो, त्यहाँ स्वर्गीय नातिकाजी दाइ, शिवशंकर दाइ, तारा देवी, मीरा राणा पनि आउनुभयो।’

उनको यो गीत सुपरहिट भयो। मुम्बईमा बसेर उनले बनाएको पहिचानलाई विश्वभरका नेपाली सामु पुर्‍यायाे। मुरलीधर आफैँ मान्छन्- ‘यो गीत नगाएको भए नेपालीमाझ अहिले भएको उनको परिचय खुम्चिन्थ्यो।’

२०५५ सालमा उनको अर्को हिट गीत आयो- ‘निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ।’ यो गीत पनि रेडियो नेपालमा रेकर्ड गरिएको हो।

नेपाली चलचित्रका बारेमा

हिजोआज गुणात्मक चलचित्र, संगीत आएको छ। तर, अहिले धेरैजसो कुरा कपी भइराखेको छ। निर्देशन, निर्माता दक्षिण भारतीय चलचित्रको नक्कल गर्दा आफ्नो मौलिकतालाई बिर्सिरहेका छन्। जस्तै, दक्षिण भारतमा झगडा पर्दा तरबार लिएर आउँछन् तर नेपालमा त खुकुरी, खुर्पा चलाइन्छ। नेपालमा बनेको चलचित्रमा नेपाली माटोको सुगन्ध आउनुपर्‍याे। नेपालमा त धेरै कथाहरू छन्। तर, नेपालमा भने चलचित्रमा निर्देशक निर्माताको भाषा बोलिरहेको हुन्छ।

उनले बनाएका तीन मैथिली चलचित्रका उदाहरण दिँदै उनले भने, ‘मेरो मातृभाषा नेपाली हो, तर म मधेसको माटोमा हुर्किएको मान्छे।  त्यहाँको हिलोसँग, आँपका गाछीसँग, पिपलको रुखसँग, पोखरीसँग आत्मीयता छ। मैलै त्यहीँ अनुसारको कथा लेखेर चलचित्र बनाएँ, चलचित्र प‍नि चल्यो। हामीले बुझेको कथा मात्रै पस्कनु पर्छ नत्र सफल हुँदैन।’

नेपाली कथा पनि उनीसँग छ। उनी निर्माता खोजिरहेका छन्- चलचित्रमा लगानी गर्नको लागि।

‘चलचित्र बनाउनु मजाक गर्नु हैन, यहाँ निर्माता हात पार्नको लागि निर्माताले जे भन्यो, त्यही गर्नुपर्ने हुन्छ। तर, म त्यसो गर्न सक्दिनँ। आ-आफ्नो स्वभाव हुन्छ, मलाई चाहिँ चलचित्र बनाउनको लागि स्वतन्त्रता चाहिन्छ’, उनले भने, ‘म अहिले पनि निर्माता आउनुहोस् भन्नु चाहन्छु।’

करिअर र आमा

मुरलीधरको क्षमतामा कहिले प्रश्न उठेन। उनी कलाकारिताको विभिन्न विधामा छन्। एकै क्षेत्रमा किन नगएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई आउने काम हो, मैले एउटा क्षेत्रमा लाग्दा अर्को क्षेत्रलाई असर पर्ने गरी काम गरेको नै छैन। त्यसैले अहिलेसम्म कुनै अप्ठ्यारो छैन। हुन त मलाई प्रकाश थापाले पनि दुई ढुंगामा पाउ राखेको छौ, कसरी अगाडि बढ्छौ? भनेर सोध्नुभयो। मैले दुई खुट्टामै यति धेरै शक्ति हुनुपर्छ, दुवै साथ लिएर जान सकियोस् भनिदिएँ।’

उनले आफू यो दुई क्षेत्रमा रहनु भनेको भाग्यको कुरा रहेको पनि बताए।

‘मेरो चलचित्र हेरेर मलाई गाली गर्छन् अनि मेरा गीत सुनेर मानिसहरू सुत्छन्’, हाँस्दै उनले भने, ‘संगीत र मेरो नङमासुको सम्बन्ध हो, यसलाई मैले विरासतमा पाएको हो। रोज्नै परे संगीत रोज्छु।’

संगीत मुरलीधरको लागि बाबुको आशीर्वाद हो। त्यसैले उनी अरू क्षेत्रलाई सेकन्डरी मान्छन्।

उनको अभिनययात्राको परिवारमा छाप भने अर्कै छ।

यससम्बन्धमा उनी भन्छन्, ‘मैले भिलेन भई काम गरेको एउटा हिन्दी चलचित्र ‘मासुका’ थियो। त्यो चलचित्रमा मलाई पानीमा चोभेर हिरोले कुटिरहेको दृश्य छ, त्यो दृश्य मेरी आमाले हेर्दा उहाँ बेहोस हुनुभएछ। मलाई त्यसपछि लामो चिठ्ठी आयो, ‘हैन त यो के गर्दैछस्? यति कुटाइ किन खान्छस्?’ मैले आमालाई पर्दामा त्यस्तो नाटक गरेको बताएँ।’

तर, मुरलीधरकी आमाले भने त्यस्तरी कुटाइ खाएको चलचित्र अब नहेर्ने बताइन्। अहिले सम्झँदा मुरलीधरलाई हाँसो लाग्छ, उनकी सासूआमा पछिल्लो समयमा मुरलीधरले अभिनय गरेको चलचित्र ‘भैरव’ हेर्न हल गइछन्।

‘मोरङको उर्लाबारीको हलमा मलाई पर्दामा देख्दा एक्कासि कराउनुभएछ- ‘मेरो ज्वाइँ हो उहाँ’ तर उहाँको कुरा कसैले पत्याएन’, उनले भने, ‘पछि मैले कुटाइ खाएको दृश्य हेर्दा उहाँ धुरुधुरु रुनुभयो रे। अनि मान्छेले उनलाई बाहिर समातेर ल्याएछन्।’

जहाँ गए पनि मुरलीधरको कामको वाहवाही हुन्छ तर मुरलीधरकी श्रीमती मुरलीधरको सबैभन्दा ठूलो समालोचक हुन्। संगीतको ज्ञान हासिल गरेकी हुनाले पनि उनले भनेको कुरा मुरलीधुर मान्छन्।

कर्म गर्नका लागि उनले आफ्नो थलो छोडेर मुम्बईमै बस्नुपर्‍याे। बेलाबखतमा नेपाल आए पनि उनको धीत मरेको छैन। मुम्बईमा तीन दशक बिताए पनि अर्काको देश उनलाई आफ्नाे कहिल्यै लागेन। एक दिन विरक्तिएको बेला उनले गीत पनि रचना गरे।

‘कति-कति खोलानाला तर्दै आएँ म त यहाँ,
के पो मैले पाएँ यहाँ के पो गुमाएँ’

घरसँग, आफ्नासँग न्यास्रिँदा कस्तो विचार आउँछ, उनले सानैबाट भोगे। मुरलीधरका बुबा कामको शिलशिलामा कहिले काठमाडौँ, कहिले पटना जान्थे। त्यतिबेला गाउँको घरका काग कराए, मुरलीधरकी आमा ‘मुरलीको बुबा आउनुहुन्छ, काग ठाउँ छोडी बस’ भन्थिन् । त्यही स्मरण सम्झेर उनले गीत रचे।

‘ठाउँ सरी बोल है काग, पाहुना आउने हो कि!
बाटो पर्खी बसेछु म उनी आउने हो कि !’

आमाको लागि उनले यो गीत लेखे। अब परिवारको आधारभूत जिम्मेवारीबाट अलिकति हलुंगो हुन मुरलीधरले पाएका छन्। २ छोरा र श्रीमतीले मुरलीधरलाई उनको रहर पूरा गर्ने अनुमति दिएका छन्। करिअरको लागि घरी मुम्बई त घरी नेपाल गर्दागर्दै उनी केही थाकेका छन्। अब उनकाे काठमाडौँमै आएर बस्ने विचार छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्