लेखापरीक्षणको विधि–पद्धतिमा समीक्षा आवश्यक छः अर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्मा। फाइल तस्बिर।

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार महालेखापरीक्षक कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन्।

उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए।

उनले भने, ‘बेरुजुसम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महसुस गरेको छु। हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतिहरुमा कहाँ त्रुटि छ। किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरि पनि अध्ययन अनुसन्धान र निराकरणको आवश्यकता मैले महसुस गरेको छु।’

अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए।

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए।

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गए पनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताए।

उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मुल्यांकन गर्न जरुरी देखिएको बताए।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्