किन घट्दै छ माधव नेपालको हैसियत?

माधव नेपाल। फाइल तस्बिर।

काठमाडौं–नयाँ राजनीतिक दलको छोटो समयमै देखिएका घटनाक्रमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भविष्य अन्यौलमा परेको देखिन्छ।

पार्टीभित्र छताछुल्ल पोखिएका असन्तुष्टिले उनले कुशल ढंगले पार्टी सञ्चालन गर्न नसकेको दर्साउँछ भने अध्यक्ष नेपालको आगामी राजनीतिक यात्राको गन्तव्य समेत निश्चित र स्पष्ट देखिँदैन।

पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेले लज्जास्पद हार बेहोरेपछि नैतिक जिम्मेवारी लिएर महासचिवबाट राजीनामा दिएका नेपाललाई अहिले एकीकृत समाजवादीमा असफल भए भने के गर्लान् भन्ने गम्भीर प्रश्न र जिज्ञासा छ।

राजनीतिक विज्ञका अनुसार उनलाई यसपटक पार्टी अध्यक्षबाट राजीनामा दिएर भाग्ने वा उम्किने छुट छैन।

समय,सन्दर्भ र विषयवस्तु फरक भएका कारण त्यतिबेला एमालेमा महासचिव पदबाट राजीनामा दिएजस्तो सजिलो नयाँ पार्टीको नेतृत्वबाट हात झिक्दा भने नहुने विज्ञ बताउँछन्।

एमाले अध्यक्ष केपीशर्मा ओलीसँग असन्तुष्ट बनेको झोँकमा अघिल्लो वर्ष भदौ २ गते नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको थियो।

पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठकबाट ‘पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लीन नभई निःस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्तापंक्ति तयार गरिने छ’ भन्ने एजेन्डा समेटिएको अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन भएको थियो। प्रतिवेदन अनुमोदन भएको १० महिना पुग्दा नपुग्दै पद र स्वार्थकै निम्ति पार्टीभित्र भएको भाँडभैलो पोखियो।

पार्टीमा पछिल्लो पटक देखिएको चरम असन्तुष्टि मन्त्रिमण्डल हेरफेरको सन्दर्भमा हो।

मन्त्रिमण्डलबाट बाहिरिएका नेताहरु रुष्ट बनेका छन् भने लामो प्रतिक्षापछि अहिले सरकारमा सहभागी हुन पाएका नेताहरुले आगामी निर्वाचनसम्म कति प्रभावकारी काम गर्न सक्लान् त्यो भोलिको दिनले देखाउनेछ।

पुर्वसहमति अनुसार ६ महिनाको लागि पार्टीबाट सरकारमा पुगेकाहरु पद गुम्न पुगेपछि अध्यक्ष नेपालसँग रुष्ट बनेका छन्।

आक्रोशमा रहेका नेताहरुले पुरानै दल एमालेमा फर्किनेदेखि पार्टी फुटाउनेसम्मको चेतावनी दिएका छन्।

एमालेमा शक्ति साझेदार नभएको दोष देखाउँदै पार्टी फुटाएका नेपालले आफैँले नेतृत्व गरेको पार्टीमा शक्ति सन्तुलन मिलाउन नजान्दा नेताहरु रुष्ट हुँदा नेपाल सकसमा छन्।

ओलीलाई अध्यक्ष स्वीकार गर्न नसकेर नयाँ पार्टी निर्माण गरेका नेपाललाई विश्वास गरेर गएका नेताहरुले अहिले झण्डै उनलाई नै अध्यक्ष नमान्ने अवस्था आइसकेको छ।
मन्त्री पद गुमाएपछि रुष्ट बनेका प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र कृष्णकुमार श्रेष्ठ पार्टीका पछिल्ला बैठकमा समेत सहभागी भएनन्।

पद जोगाइदिन भन्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तथा गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ दौडधूप गरेका उनीहरु पद गुमेपछि बैठकमा सहभागी नभएका नेतामध्ये केही पार्टी र सञ्चारमाध्यमहरुको सम्पर्कमा समेत आएका थिएनन्।

सरकारबाट बाहिरिनुपर्ने भएपछि पार्टी नेतृत्वसँग पनि भनाभन परेको थियो भने शहरी विकास मन्त्रालयबाट बाहिरीएको दिन नेतृ झाँक्री निकैबेर भावुक बनेर रोएकी थिइन्। आफू एमालेकै नेतृ भएको जस्तो महसुस हुने उनले एक टेलिभिजन अन्तर्वार्तामा बताएकी थिइन्।

विधि,पद्धति,अग्रगमन,मूल्य,मान्यता र आर्दशको कुरा गरेर फुटाएको पार्टीमा मन्त्री पदको लागि हानथाप गर्ने र पार्टी नै फुटको अवस्थामा पुग्नुले प्रश्नहरु जन्माएको छ। माग र सर्त पूरा नहुँदा नेपालप्रति नेताहरु सकारात्मक हुन नसकेका बुझाइहरु पनि छन्।

नेताहरुलाई रिझाउन नसक्दा नेपालले भएको विश्वास पनि गुमाउँदै गएको देखिएको छ।

पार्टी कमजोर बन्दै गएपछि चुनावमा पनि कमजोर नतिजा आउनु स्वभाविक नै हो। भोलिका दिनमा गठबन्धन कायम रहे कमजोर खालको स्थान नै एकीकृत समाजवादीलाई मिल्ने अनुमान लगाउन सकिन्छ।

पार्टीका नेताहरुले अध्यक्ष नेपालको स्थिती बुझ्न नसकेको र नेपालले सहानुभूति समेत पाउन नसकेको जस्तो देखिन्छ।

सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न सुझाव पनि दिएका थिए।

यता पार्टीको तर्फबाट सरकारमा पुगेका नयाँ मन्त्रीहरुलाई जिम्मेवारी प्राप्त भएको मन्त्रालय सम्हाल्न र काम गर्ने तौरतरिका सिक्न, बुझ्न दुई–तीन महिना लाग्छ।
सबै नयाँ भएका कारण सरकार सञ्चालनको अनुभव पनि छैन । उनीहरुलाई पनि कार्यशैली बुझ्दा समय सकिएर निस्कनुपर्ने बाध्यता आइलाग्नेछ।

संघ र प्रदेशको चुनावको मिति घोषणा भइसकेपछि महत्वपूर्ण निर्णय गर्न नमिल्ने संघीयताविद् बताउँछन्।

मन्त्रीबाट फिर्ता हुन नचाहने र नयाँ आउन खोज्नेको गतिविधिको कारण पनि अध्यक्ष नेपाल अलोकप्रिय बन्न पुगेका छन्।

यस्तै स्थानीय तहको निर्वाचनमा प्राप्त नतिजालाई लिएर पनि नेकपा एस सन्तुष्ट छैन भने आगामी संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धन सहित होमिने वा कुन तालमेल र मोडालिटीमा जाने भन्ने निश्चित छैन।

सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने या नदिने भन्ने निर्णय अध्यक्ष नेपालको हातमा मात्रै छैन।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीलाई जस नदिएका कारण अर्को गठबन्धन बन्न सक्ने सम्भावना रहेको समेत नेताहरुको अभिव्यक्तिले देखाउँछ।
सानो दल भएका कारण एकीकृत समाजवादीलाई निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जानुपर्ने दबाब छ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अध्यक्ष नेपालले जुन आंकलन र शक्तिको अनुमान गरेर पार्टी निर्माण गरेका थिए त्यो नदेखिएको उल्लेख गरेका छन्। उनले देशसञ्चारसँग भने–‘स्थानीय तहको निर्वाचनमा खराव प्रर्दशन नेकपा एसकै भयो, अपेक्षा र आंकलन गरिएअनुसार सिट संख्या र मत आएन,पोखरा र हेटौडामा पनि पार्टीको भन्दा पनि गठबन्धनको बलले जितेको भन्ने स्थापित छ।’ फुटेर सानो भएको नेकपा एस स्थानीय तहको चुनावले झन् सानो बनेकोले मााधव नेपालको भविष्य अँध्यारो भएको उनको बुझाइ छ।

नेपालले झण्डै पाँच दशक लामो राजनीतिक जीवनलाई दाउमा राखेर नेकपा एस खोलेपनि अनकन्टार गन्तव्य तर्फको यात्राको संज्ञा दिएका छन्।

तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दासढुंगा दुर्घटनामा परेर निधन भएपछि नेपाल पार्टीका महासचिव बनेका हुन्। त्यतिवेला महासचिव नै एमालेमा कार्यकारी प्रमुख रहने व्यवस्था थियो।

एमालेमा सर्वमान्य नेताका रुपमा मनमोहन अधिकारी अध्यक्ष रहेपनि पार्टी कमान्ड नेपालले गर्थे। उनले नेतृत्व सम्हालेको अर्को वर्ष २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो। अल्पमतको भएपनि देशको पहिलो कम्युनिष्ट सरकार बन्यो।

मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा उनी उपप्रधानमन्त्री बनेपनि छायाँ प्रधानमन्त्रीको भूमिका खेलेका थिए।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य आफूहरुलाई वैचारिक बहस र सिद्धान्त सिकाउने नेता नेपाल आफैँ असफलताको बाटोतर्फ हिँडेकोमा दुख लागेको बताउँछिन्। उनले देशसञ्चारसँग भनिन्– ‘नेता नेपालले एमालेमै संघर्ष र वैचारिक बहस गर्नुपर्छ भनेर प्रेरणा दिएर आफै छुट्टिएर हिँड्नुभयो।’

यद्यपि नेपालले पार्टी फुटाउनेबेला ओलीको विरोध गर्नेहरुको अग्रपंक्तिमा शाक्य नै थिइन् तर ओलीले पार्टीभित्र नेतृ शाक्यलाई चित्त बुझ्दो पदमा व्यवस्थापन गरिदिएपछि ओलीको समर्थनमा उभिएकी हुन्।

नेकपा एसका महासचिव डा.बेदुराम भुसालले भने अध्यक्ष नेपालको भविष्य सुन्दर देखेका छन्। उनले देश सञ्चारसँग भने– ‘हिजो एमाले बनाउने साथीहरु हामी आज एक ठाउँमा छौँ। नयाँ ढंगले पार्टी बनाउँदै छौँ। २०५१ सालमा सरकार चलाएको हिजोको एमालेको सहि रुप हामी हौँ,अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल नेताहरु मुकुन्द न्यौपाने,प्रदीप नेपाल लगायत हामी सँगै छौँ। कम्युनिष्ट आन्दोलमा लागेका थुप्रै साथीहरुपनि हामी सँग हुनुहुन्छ। केपी ओली १४ बर्ष जेल बस्दा त्यहि आन्दोलनमा घनेन्द्र बस्नेत १८ बर्ष जेल बसेका छन्।’

आयोगमा दल दर्ता गराउँदै गर्दा गत भदौमा नेकपा एसका केही नेताले अबको चार/पाँच महिनामै माओवादी लगायतका दलसँग एकता गराएर आफ्नो पार्टी सबैभन्दा ठूलो बनाउने दाबी गरेका थिए। सम्मानित नेता खनालदेखि धेरै नेताहरु नेपालको पक्षमा नदेखिएकाले पार्टी ठूलो बनाउनुको सट्टा बरु खुम्चिने जोखिम बढेको छ।

केही दिनअघि एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले नेकपा एसका अध्यक्ष नेपाललाई राजनीतिबाट संन्यास लिएर बस्न सुझाव दिएका थिए।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा पुगेकोले संन्यास लिएर बस्न सुझाव दिएका हुन्।

अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्न पनि सुझाव दिएका थिए। राजनीतिबाट नै अवकाश लिने बेलामा नेपालले अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको भट्टराईको भनाइ थियो।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्