मधेस प्रदेशमा ११ प्रतिशत धान रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा धानको खेती हुने जग्गामध्ये ११ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेशमा ५ लाख ५५ हजार २१८ हेक्टर जग्गा खेतीयोग्य रहे पनि ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका बाली विकास अधिकृत मनिष पालका अनुसार प्रदेशभर अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्ममा प्रदेशको पर्सा जिल्लामा सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने धनुषामा सबैभन्दा कम धान रोपाइँ भएको छ।

पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। अहिले यहाँ ९ हजार ४२६ हेक्टर अर्थात २० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

यस्तै सप्तरीमा ८१ हजार ६६८ हेक्टर जग्गामध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ। अहिले यहाँ १० हजार २ सय हेक्टर अर्थात १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो।

यस्तै सिरहामा ७३ हजार ९१४ हेक्टर जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष अहिलेसम्मा ७ हजार ५६० हेक्टर अर्थात १४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ।

यस्तै महोत्तरीमा १० प्रतिशत, बारामा १० प्रतिशत, रौतहटमा ७ प्रतिशत, सर्लाहीमा ५ प्रतिशत र धनुषामा सबैभन्दा कम ४ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्