बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेल रहेकी छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७१ माघ २९ गते उनलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेकी थिइन्।

पौडेललाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो।

पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

 

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्