विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृहमन्त्रीको निर्देशन

फाइल तस्विर

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए।

उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए।

उनले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भूमिका निर्वाह गर्न पनि निर्देशन दिए।

उनले भने, ‘अहिले फेरि वर्षाले नोक्सान गर्न थालिराखेको छ। बाटो अवरोध हुँदाखेरी भौतिक विकास र आर्थिक क्रियाकलापमा पनि गम्भीर क्षति पुर्‍याउँछ। मानवीय अत्यावश्यक गतिशीलता पनि त्यसले ठप्पै पारिदिन्छ। बिरामीदेखि लिएर अन्य महत्वपूर्ण कार्यका लागि घरबाट निश्चित गन्तव्यका लागि प्रस्थान गरेका नागरिकहरुको यात्रा पनि अवरोध हुन्छ। एकातिर धनजनको नोक्सान हुने, विपतमा परेर जीवन जाने जोखिम छ। सुरक्षित यात्रालाई पनि त्यसले गम्भीर प्रभाव पारेको छ। त्यसकारणले हामीले ठाउँ–ठाउँमा पूर्वतयारी गरेर बस्ने र हाम्रा सामग्रीहरु पनि जुन उपलब्ध छन्, तिनलाई पनि तयारी अवस्थामा राख्ने। कहीँ त्यस्तो खालको प्रभाव परिहाल्यो भने तत्काल राज्य त्यहाँ पुगेर त्यसको गर्नुपर्ने भूमिका निर्वाह गरिहाल्ने।’

उनले सरकारको मातहतका सरोकारवाला निकायहरुको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गरे।

उनले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्