महँगी नियन्त्रणका लागि सरकारले बजार अनुगमन गर्छः बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्।

वाणिज्य मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताए।

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए।

मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए।

उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए।

इन्धनको मूल्य उच्च रूपमा बढ्दै गएसँगै अकासिएको बजारमूल्य नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ। जनताले अनुभूति हुने गरी प्रभावकारी भयो भने घट्न जरुरी हुन्छ। त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ। मन्त्रालयको अनुगमन निकाय, अन्य मन्त्रालयका निकाय, सात वटै प्रदेशका निकाय, निर्देशनालय र ७७ वटै जिल्लाका अनुगमन अधिकारी, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौँ। यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ।’

मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए।

उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारीभित्र रहेको बताए।

मन्त्री बडूले मन्त्रिपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गरे।
उनले करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताए। मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थ मन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘कर घटाउने र कर बढाउने कुरा विशुद्ध अर्थ मन्त्रालयको विषय हो। अर्थमन्त्री नै त्यसबारे जिम्मेवार हो र उहाँले आफ्नो काम गर्नुभयो। तेलको मूल्य घटेर पनि कम मूल्य तिर्न लागिसकेका छन् जनताले यो यथार्थ हो। मन्त्रिपरिषद्को निर्णयमा अर्थमन्त्री पनि सहभागी हुनुहुन्छ। कर घटेको अथार्थ हो। कर घटाउने कुरा अर्थ मन्त्रालयको हो। कहाँ कति घटाउने वा नघटाई राज्यकोषबाट तेल किन्न पैसा दिने आयल निगमलाई एउटै कुरा त भयो। जसकारण आयल निगमले घटाइसक्यो। यसमा धेरै विवादको विषय छैन। मन्त्रिपरिषद्ले निर्णय गरिसक्यो। कर कहाँ कति समायोजन गर्ने उसको विषय भयो। मन्त्रिपरिषद्को निर्णयका कारण मूल्य घटेको छ। जनताले घटेको मूल्यमा डिजेल र पेट्रोल किन्न थालेका छन्।’

मन्त्री बडूले इन्धनको मूल्य घटाए पनि बजारमा त्यसको कार्यान्वयन भए÷नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए।

उनले यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको बताए। मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रणबाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘डिजेल–पेट्रोल किन्ने व्यक्तिले सस्तो पाउन थाल्यो। अब मूल्यवृद्धिको बहानामा जे भइरहेको थियो। त्यसमा कन्ट्रोल भयो कि भएन। सरकारको प्राथमिकता त्यतातिर हुनुपर्छ भनेर सरकार लागेको छ। मूल्य बढ्नेसित सम्बन्धित निकायसँग सम्बन्धित निकाय कुनकुन हुन् भनेर मूल्य नियन्त्रण गर्ने निकाय सबैलाई बोलायौं। गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालयका सबैलाई बोलाएर आ–आफ्नो जिम्मेवार सम्हाल्ने बेला आयो। यातायात तथा ढुवानी क्षेत्रमा यातायात मन्त्रालयले हेर्नुप¥यो तत्काल उहाँहरूले नै गर्ने हो। बसभाडा कुन अनुपातमा बढाउनुभएको थियो। त्यो बेला बढ्यो। तर सरोकारवालासँग बसेर तत्काल भाडा घटेको हुनुप¥यो। जनताको सरोकारको विषय यही हो। बसको ढुवानी बढेकाले बजारमूल्य बढेकाले ढुवानी भाडा नियन्त्रण गर्न यातायात मन्त्रालयलाई भनौं। सरकारले बजारलाई हस्तक्षेप गर्नुपर्छ। बजार नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन। मूल्य बढिरहेको अवस्था अहिले पनि हो भने त्यसलाई तत्काल अनुगमन गर्ने र बजारमा घट्न घटाउन नचाहने प्रवृत्ति देखिन्छ भने त्यसमाथि अंकुश लाग्नुपर्छ। कानुनअनुुसारको सजायमा जानुपर्ने हुन्छ। अनुगमनलाई तत्काल प्रभावकारी बनाउनुपर्छ।’

मन्त्री बडूले सरकारले तीव्र रूपमा बजार अनुगमन गर्ने र बजारमा वस्तुको मूल्य घट्न घटाउन नचाहने प्रवृति देखिए तत्काल नियन्त्रणमा लिएर कानुनअनुुसार कारबाही गर्न निर्देशन दिए।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्