पेरिस आक्रमणका दोषीलाई फ्रान्सको इतिहासकै सबैभन्दा कठोर सजाय

सलाह अब्देस्लामको स्केच।

एजेन्सी – सन् २०१५ मा पेरिसकाे विभिन्न ठाउँमा हमला गर्ने समूहका एक मात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ।

सलाह अब्देस्लामलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको छ। यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो। सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ।

अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ। जसमध्ये ६ जना दोषीको मृत्यु भइसकेको बुझिएको छ।

यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो। गत वर्ष सेप्टेम्बरदेखि मुद्दामा सुनुवाइ चलिरहेको थियो।

विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका आफन्तहरू मुद्दाको सुनुवाइ गर्न पेरिसको विशेष अदालतमा भेला हुने गरेका थिए। यो आक्रमण दोस्रो विश्वयुद्धपछि फ्रान्सको इतिहासमा सबैभन्दा भयानक मानिन्छ।

२०१५ काे नोभेम्बर १३ मा बार, रेस्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक संगीत स्थल लगायत फ्रान्सका विभिन्न स्थानमा आक्रमण भएकाे थियाे। आक्रमणमा परी सयौँ घाइते भएका थिए।

मुद्दाको सुरुमा अब्देस्लामले आफूलाई इस्लामिक स्टेट चरमपन्थी समूहको “सिपाही” भनेर वर्णन गरेका थिए।

यद्यपि, अब्देस्लामले पछि पीडितहरूसँग माफी मागेका थिए।

अदालतमा उनले आफू हत्यारा नभएकाे र हत्याको लागि सजाय दिनु अनुचित हुनेसमेत बताएका थिए।

अब्देस्लाम आजीवन जेलमै बस्नुपर्नेछ। फ्रान्सको कानुनअनुसार अब उनीहरूले ३० वर्षको जेल सजाय काटिसकेपछि मात्रै प्यारोलका लागि आवेदन दिन सक्छन्।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्