पहिरोले लगेको फुइसिङ खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा पानी

सिमकोट- पहिरोले पूर्णरूपमा क्षति पुगेकाे खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा धारा जडान गरिएको छ। गतवर्ष गएको पहिराले फुइसिङ खानेपानी योजनालाई पूर्णरूपमा क्षति पुर्‍याएको थियो।

नाम्खा गाउँपालिका-५ को तुम्कोट गाउँका स्थानीय उपभोक्ता ल्याण्ड तामाङ लामाले पहिरोले क्षति पुगेको उक्त खानेपानी योजना पुनर्निमाण गरेर पुनः सञ्चालनमा आएको बताए।

खानेपानी योजनालाई पहिरोले क्षति पुर्‍याएपछि उक्त गाउँवासी, विद्यालयका विद्यार्थी, शिक्षक र होटेल व्यवसायी एक घण्टा टाढाको खोलाबाट खानेपानी प्रयोग गर्न बाध्य हुँदै आएका थिए।

योजनाको मुहान, पाइपलाइन, ट्यांकी र धारामा पहिरोले क्षति पुर्‍याएकाे थियो।

सहयोगी निकायको सहयोगमा यस योजनाकाे पुनर्निर्माण भएको हो। गाउँवासीको घरघरमा जडान गरिएका धारामा पानी आउन थालेपछि स्थानीय हर्षित भएका छन्।

उक्त योजनाको मुख्य सहयोगी निकाय ग्रामीण जलस्राेत व्यवस्थापन परियोजना जिल्ला सल्लाहकार वीरेन्द्र थापाले पहिलोले क्षति पुर्‍याको योजनाको एक वर्ष नपुग्दै पुनर्निमाण निर्माण गरेर खानेपानी सुचारु गरिएको बताए।

योजनाबाट तुम्कोट गाउँका २६ घरधुरीमा पानी पुगेकाे छ भने एउटा विद्यालयमा बालमैत्री धारा र अर्को गुम्बाको धारामा पनि पानी सुचारु भएको छ।

गत मंसिर महिनामा स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेर असार दोस्रो हप्तासम्म पुनर्निर्माण कार्य पूरागरी सञ्चालनमा आएको हो।

सो योजना पुनर्निर्माण गर्नका लागि परियोजना, गाउँपालिका र स्थानीय उभोक्ताको जनश्रमदान गरी २६ लाख लागत लागेको थियो। यसअघि पनि उक्त योजना तिनै साझेदारहरूको लागतमा निर्माण गरिएको हो।

पुनर्निमाण निर्माण कार्य पूरा भएपछि गाउँपालिकाका अध्यक्ष प्रेम लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरेर घरघरमा पानी छोडिएको थियो। सो अवसरमा उपाध्यक्ष तकदिर लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्