अमेरिकी पप गायक केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय

सेप्टेम्बर २०१९ मा शिकागोको अदालतमा गायक आर केली ।

एजेन्सी- अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ।

गत वर्षकाे सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो। त्यसयता उनको सजायको बहस चलिरहेको थियो।

सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए। केली जुलाई २०१९ देखि जेलमा छन्।

अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए। उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको पनि बताएका थिए।

केलीका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन्। केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेकाे अदालतमा खुलेकाे थियाे।

त्याे समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो। पछि उनीहरूको विवाह रद्द गरिएकाे थियाे। नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएकाे थियाे।

इलिनोइस र मिनेसोटा राज्यकाे अदालतकाे आराेप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफी लगायत विभिन्न आरोपकाे सामना गरिरहेका छन्।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्