विषयप्रवेश

वैदिक शास्त्रका र धर्मका विविध विषयमा यथार्थ कुरा जनसमक्ष राख्नका निम्ति यस शृङ्खलामा लेखहरू नियमित रूपमा प्रस्तुत गरिँदै आइएको छ । वैदिक धर्मशास्त्रका ग्रन्थहरूमध्ये विशेष रूपमा चर्चित र धेरै विषय समेटिएको ग्रन्थ मनुस्मृति भएकाले यसका सम्बन्धमा धेरैको चासो रहेको देखिन्छ । त्यसैले मनुस्मृतिका विविध विषयमा विवेचनात्मक लेखहरू लेख्नुपर्ने आवश्यकता रहेको छ ।

वैदिक शास्त्रका ग्रन्थहरूको मान्यताक्रम वा जेठकान्छी बुझेपछि मात्र शास्त्रीय मर्यादा स्पष्ट हुने भएकाले सर्वप्रथम त्यो बुझ्नुपर्छ। वेदका मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र धर्मसूत्रहरूपछि मात्र स्मृतिहरूको स्थान आउँछ । स्मृतिपछि पुराण, रामायण र महाभारतको क्रम आउँछ । त्यसपछि मात्र निर्णयसिन्धु, धर्मसिन्धु इत्यादि धर्मशास्त्रनिबन्धका ग्रन्थहरूको मान्यता हुन्छ । यो कुरो नबुझी धर्मशास्त्रका र कर्मकाण्डका विषयमा लेख्ने–बोल्ने व्यक्तिहरूले गम्भीर त्रुटिहरू गरेको देखिन्छ । स्मृतिलाई नै स्मृतिसंहिता वा धर्मसंहिता पनि भन्ने गरिएको छ । स्मृति भन्नाले मनुस्मृति, याज्ञवल्क्यस्मृति इत्यादि पद्यबद्ध अर्थात् श्लोकमा लेखिएका स्मृतिहरू बुझिन्छन् । वेदलाई श्रुति र स्मृतिलाई धर्मशास्त्र पनि भन्दछन् । वेदका विभिन्न शाखाहरूमा छरिएर रहेका वर्णाश्रम धर्मसम्बन्धी, व्यवहारसम्बन्धी (मुद्दामामिलासम्बन्धी) र प्रायश्चित्तसम्बन्धी विषयहरूको र नियमहरूको सङ्ग्रह स्मृतिहरूमा क्रमबद्ध रूपले गरिएको पाइन्छ।

स्मृति, पुराण, तन्त्र इत्यादिका वेद¬मूलक कुरा मात्र धर्ममा प्रमाण मानिन्छन्, कदाचित् त्यहाँ वेदविरुद्ध केही कुरा आए भने तिनलाई वैदिक धर्ममा प्रमाण मानिँदैन भनेर देवीभागवतमा स्पष्ट बताइएको छ—

स्मृतिः पुराणमन्यद् वा
तन्त्रं वा शास्त्रमेव च ।
तन्मूलत्वे प्रमाणं स्यान्
नाऽन्यथा तु कदाचन ।। —११।१।२८–२९।

मनुस्मृति

स्मृतिहरूमध्ये सबैभन्दा जेठो, मान्य, विस्तृत, प्रामाणिक र महत्त्वपूर्ण स्मृति मनुस्मृति हो । यो एउटै ग्रन्थ संविधान, ऐनकानुन, विधिशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, धर्मशास्त्र, समाजशास्त्र, मोक्षशास्त्र इत्यादि विविध शास्त्र हो । बह्माजीद्वारा प्रणीत (रचना गरिएको), मनुद्वारा उपदिष्ट (उपदेश गरिएको) तथा भृगुद्वारा प्रोक्त (सुनाइएको) स्मृतिलाई मनुस्मृति मानिएको छ । सुरुमा यो स्मृति ब्रह्माजीले बनाएर मनुलाई पढाएको कुरा (१।५८), मनुले महर्षिहरूलाई धर्मका उपदेशका रूपमा सुनाएको कुरा (१।१–४, १।११८ इत्यादि) र मनुबाट सुनेर भृगुले अरू ऋषिहरूलाई यस स्मृतिको प्रवचन गरेको कुरा पनि मनुस्मृतिमै (१।५९, ६०, ११९ इत्यादि) बताइएको छ। त्यसैले यस स्मृतिलाई भार्गव मनुस्मृति पनि भन्ने गरिन्छ। धर्मशास्त्रका प्रवर्तक मनुको नाम वेद, पुराण, रामायण र महाभारतमा पनि आएको छ । मनुस्मृतिमा १२ अध्याय र २६८४ श्लोक छन् । कुल्लूकभट्टले व्याख्या गरेका मनुस्मृतिका पाठमा २६८४ श्लोक छन्, मेधातिथिको प्राप्त मनुभाष्यमा भने १३ श्लोक कम छन्।

मनुस्मृतिमा सृष्टि, संस्कार, आचार, आश्रमधर्म, राजधर्म, व्यवहारको निर्णय, विभिन्न वर्ण र जातिहरूको विचार, आपत्कालमा गरिने धर्म, प्रायश्चित्त, जीवहरूको गति, कर्ममार्ग र मोक्षमार्गसमेतका धेरै विषयहरूको प्रतिपादन गरिएको छ । आधुनिक विचारकहरूले मनुस्मृतिको वर्तमान रूपलाई विक्रमपूर्व लगभग २०० वर्षसम्म पुरानो मानेको छन् । यस स्मृतिका व्याख्याहरूमा मेधातिथिको मनुभाष्य नामको व्याख्या (नवौँ शताब्दी) र कुल्लूकभट्टको मन्वर्थमुक्तावली नामको व्याख्या (तेरौँ शताब्दी) बढी प्रसिद्ध छन् । मनुस्मृतिका अन्य व्याख्याताहरूमा भारुचि (छैटौँ शताब्दी), गोविन्दराज (एघारौँ शताब्दी), सर्वज्ञनारायण (बारौँ–तेरौँ शताब्दी), राघवानन्द, नन्दन र रामचन्द्र पनि उल्लेखनीय छन् ।

मनुस्मृतिमा थपघट

यसरी प्राचीन व्याख्याताहरूले व्याख्या गरेका हुनाले र संसारभरि मनुस्मृतिका अनगिन्ती हस्तलेख पाइने भएकाले पनि मनुस्मृतिमा कसैले थपघट गर्न सक्ने स्थिति थिएन र छैन पनि । वेद, वेदाङ्ग र धर्मसूत्रहरूमा भएका र त्यहाँ सङ्केत गरिएका विषयहरूको नै मनुस्मृतिमा विस्तारपूर्वक व्याख्या गरिएको हो भन्ने कुरा वेद, वेदाङ्ग, धर्मसूत्र र धर्ममीमांसाशास्त्र पढेका स्वतन्त्र विद्वान्हरूलाई घामजत्तिकै छर्लङ्ग हुन्छ । आफूलाई मनपरेका कुरा आए ठिक, मन–नपरेका कुरा आए बेठिक ठान्ने वा मान्नेहरूले मात्र मनुस्मृतिमा धेरै प्रक्षेप छन् भनेका हुन् । तर वास्तवमा मनुस्मृतिका वर्तमान उक्त पाठमा प्रक्षेप भएको बुझिँदैन । जोडिएका केही थप श्लोकहरू क्रमसङ्ख्यामा समावेश नगरी छुट्टै पढिँदै आएका भने छन् ।

धर्ममा केवल लौकिक तर्क र विज्ञान खोज्नेहरू पनि धेरै भ्रममा परेका देखिन्छन् । आधुनिक कुशिक्षाले दिग्भ्रान्त हुन पुगेका र समुचित श्रद्धा नभएका व्यक्तिले पनि धर्मशास्त्रको मर्म र तात्पर्य बुझ्न सकेको देखिँदैन । अहिले जस्ताको तस्तो अनुवाद सुलभ नभएकाले संस्कृतभाषाको राम्रो ज्ञान नभएका व्यक्तिले पनि जस्तापाई अनुवाद पढेर मात्र धर्मशास्त्र बुझ्न सक्ने स्थिति छैन।

मनुस्मृतिका विषयमा भ्रम
मनुस्मृतिका विभिन्न पक्षका यथार्थ कुरा र विभिन्न श्लोकका तात्पर्य बुझेका व्यक्ति दुर्लभ भएकाले अहिले यसको जसरी आलोचना गरे पनि भैहाल्छ भनेर वैदिक शास्त्र र धर्ममाथि आक्षेप गर्न एकथरी मान्छे लागेका देखिन्छन् । एउटा उदाहरणका रूपमा मनुस्मृतिको “न स्त्री स्वातन्त्र्‌यमर्हति” भन्ने श्लोकलाई (९।३) लिन सकिन्छ। यस श्लोकले महिलामाथि घोर अन्याय गरेको छ भनेर अन्धाधुन्ध रूपमा प्रचार गरेका छन् र यसलाई विवादको विषय बनाउने पनि गरेका छन्। तर यस श्लोकको आशय र तात्पर्य नबुझ्नाले वा वैदिक शास्त्रप्रति द्वेष राख्नाले यस्तो गरेका हुन्। यसभन्दा अघि नै यहीँ प्रकाशित गरिएको (२०७७।१२।१) मनुस्मृति र महिलासुरक्षा भन्ने शीर्षकको लेखमा उक्त श्लोकको राम्ररी व्याख्या र विवेचना गरिएको छ । त्यो लेख पढेपछि विवेकशील व्यक्तिले मनुस्मृतिको त्यस श्लोकको तात्पर्य राम्ररी बुझ्न सक्छन्। यस्तै स्थिति अन्य कतिपय श्लोकको पनि छ । त्यस्ता एकेक श्लोकको तात्पर्य स्पष्ट गरेर छुट्टाछुट्टै लेख लेख्नुपर्ने देखिन्छ । चौखम्बा विद्याभवन, वाराणसीबाट प्रकाशित भएको मनुस्मृतिको हिन्दी अनुवादमा (शिवराज आचार्य कौण्डिन्न्यायन, सन् २००८, २०१३, २०१७, २०१९) त्यस्ता केही आलोचनाको प्रत्युत्तर दिइएको पनि छ ।

मनुस्मृतिका कतिपय उक्तिहरू
मनुस्मृतिमा सर्वसाधारण र विद्वान् दुवैथरी व्यक्तिका निम्ति उपयोगी र बोधगम्य विविध विषयहरू आएका छन् । अब यहाँ मनुस्मृतिमा उल्लिखित केही त्यस्ता महत्त्वपूर्ण उक्तिहरू अनुवादसहित प्रस्तुत गरिन्छन् ।

मनुस्मृतिले व्यक्तिलाई भित्रैदेखि रमाइलो लाग्ने काम गर्न निर्देश दिएको छ—

यत् कर्म कुर्वतोऽस्य स्यात्
परितोषोऽन्तरात्मनः ।
तत् प्रयत्नेन कुर्वीत
विपरीतं तु वर्जयेत् ।।४।१६१।।

जुन काम गर्दैगर्दा आफ्नो अन्तरात्मालाई सर्वथा सन्तोष होला त्यही काम प्रयत्नपूर्वक गरोस्, त्यसको विपरीत काम अर्थात् अन्तरात्मालाई सन्तोष नहुने काम नगरोस् ।
पेसाका रूपमा वा सोखका रूपमा जीवनभर आफूले गर्ने काममा रमाउने बानी बसाल्नुपर्छ अथवा आफू रमाउन सकिने काम नै गर्नुपर्छ भन्ने यस श्लोकको तात्पर्य हो । काम गर्दैगर्दा त्यसैमा आनन्द नहुने मनोरञ्जनका निम्ति अर्थोकै काम गर्नुपर्ने स्थिति आउँछ भने त्यस्तो जीवन आनन्दमय हुन सक्तैन ।

स्वाधीनतासुख हो भने पराधीनताचाहिँ दुःख हो भन्ने कुरा पनि मनुस्मृतिमा स्पष्ट पारिएको छ—

सर्वं परवशं दुःखं
सर्वमात्मवशं सुखम् ।
एतद् विद्यात् समासेन
लक्षणं सुखदुःखयोः ।।४।१६०।।

अर्काको अधीनको सबै काम दुःखदायक हुन्छ, आफ्नो अधीनको सबै काम सुखदायक हुन्छ । सङ्क्षेपमा यसैलाई सुखको र दुःखको लक्षण जान ।

गारो काम गर्दा दुःख हुने र सजिलो काम गर्दा सुख हुने हैन, अर्काको खटनमा गर्नुपर्दा सजिलै काम गर्दा पनि दुःख हुन्छ र आफ्नै सुरमा आफ्नै इच्छाले काम गर्न पाउँदा गारो काम गर्दा पनि सुख नै हुन्छ भन्ने यस श्लोकको तात्पर्य हो ।

मनुस्मृतिले व्यक्तिलाई आफ्ना बाउ–बाजेले र पुर्खाले अँगालेका धर्ममार्गमा हिँड्न प्रेरणा दिएको छ—

येनाऽस्य पितरो याता
येन याताः पितामहाः ।
तेन यायात् सतां मार्गं
तेन गच्छन् न रिष्यते ।।४।१७८।।

आफ्ना बाउ–बाजे परम्परागत जुन धर्ममार्गमा हिँडे, सत्पुरुषले हिँडेका त्यसै धर्ममार्गमा सन्तान पनि चलून् । धर्ममार्गमा हिँड्दा सन्तान कहिल्यै अधर्मले ग्रस्त हुँदैनन् ।
यस श्लोकको तात्पर्य बाउ–बाजे अधार्मिक रहेछन् भने पनि तिनैको मार्गमा सन्तानले चल्नुपर्छ भन्नेचाहिँ हैन । आफ्ना पुर्खाले अवलम्बन गरेको धर्म, संस्कृति र परम्पराको पालन गर्दा सन्तानको कल्याण हुन्छ भन्ने तात्पर्य हो । आआफ्ना वेदका शाखाले बताएका कर्महरूको अनुष्ठान गर्नुपर्छ भन्ने पनि यसको आशय हो ।
मनुस्मृतिमा वेदशास्त्रको ज्ञाता सबै कार्य गर्न समर्थ हुन्छ भन्ने उल्लेख गरिएको छ—

सेनापत्यं च राज्यं च
दण्डनेतृत्वमेव च ।
सर्वलोकाधिपत्यं च
वेदशास्त्रविदर्हति ।।१२।१००।।

वेदशास्त्रको ज्ञाता व्यक्ति सेनापतिको कार्य, राजाको अर्थात् शासकको कार्य, दण्डनिर्णायकको अर्थात् न्यायाधीशको कार्य र सम्पूर्ण लोकको अधिपतिको कार्य पनि गर्न योग्य हुन्छ । वेद बुझ्नका निम्ति वेदका अङ्ग र उपाङ्गहरूको समेत अध्ययन गर्नुपर्ने भएकाले वेदज्ञ विद्वान् सबै काममा योग्य हुन्छ भनिएको हो ।

आर्षं धर्मोपदेशं च
वेदशास्त्राऽविरोधिना ।
यस् तर्केणाऽनुसन्धत्ते
स धर्मं वेद नेतरः ।।१२।१०६।।

ऋषिद्वारा दृष्टवेदको र वेदज्ञमुनिहरूद्वारा उपदिष्ट स्मृतिहरूको पनि जो वेदशास्त्रको अविरोधी तर्कद्वारा (मीमांसाशास्त्ररूपी तर्कद्वारा) पर्यालोचन गर्दछ, उसले धर्म जान्न सक्छ। जथाभावी लौकिक वा वैज्ञानिक भनिने तर्क गरेर धर्मको तत्त्व बुझ्न सकिँदैन, धर्म बुझ्न शास्त्रीय तर्कको सहारा लिएर अनुसन्धान गर्नुपर्छ भन्ने यसको तात्पर्य हो ।
मनुस्मृतिले महिलाप्रति सम्मान गर्नुपर्ने कुरा स्पष्ट शब्दमा बताएको छ । नारीको सत्कार गरेमा नै देवताहरू प्रसन्न हुन्छन्—

यत्र नार्यस् तु पूज्यन्ते
रमन्ते तत्र देवताः ।
यत्रैतास् तु न पूज्यन्ते
सर्वास् तत्राऽफलाः क्रियाः ।।३।५६।।

जहाँ नारीहरूको आदर–सत्कार गरिन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यिनीहरूको आदर–सत्कार गरिँदैन, त्यहाँ गरिएका सम्पूर्ण कार्यहरू निष्फल हुन्छन् ।

एउटै यस श्लोकबाट मनुको नारीप्रतिको दृष्टिकोण स्पष्ट हुन्छ । सुरक्षाका निम्ति, अनुशासनका निम्ति र कुटुम्बको वास्तविक कल्याणका निम्ति बताइएका अरू कुरालाई पनि विवेचनात्मक आँखाले हेर्नुपर्ने हुन्छ । स्त्रीलाई पुरुषहरूले गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयमा मनुस्मृतिका अरू धेरै श्लोकमा पनि निर्देशन दिइएको छ (२।३३, ३।५७–६२, ९।२६ इत्यादि) ।

सबैले पालन गर्नुपर्ने धर्मका दस रूप पनि महत्त्वपूर्ण छन् । जस्तै—

धृतिः क्षमा दमोऽस्तेयं
शौचमिन्द्रियनिग्रहः ।
धीर् विद्या सत्यमक्रोधो
दशकं धर्मलक्षणम् ।।६।९२।।

धैर्य, क्षमा, दम (विकार हुने अवस्था आउँदा पनि मनको अविकार), अस्तेय (अर्काको धन नलिनु), शौच (पवित्रता), इन्द्रियहरूको नियन्त्रण, शास्त्रको अर्थको ज्ञान, आत्मज्ञान, सत्य बोल्नु र क्रोधको त्याग यति दस थोक सबै आश्रमका धर्मका रूप हुन् । यी दस कुराको पालन यथोचित रूपमा सबैले गर्न सक्ने देखिन्छ।
ब्राह्मणले सकेसम्म कुनै पनि प्राणीलाई पीडा नदिईकन जीविका चलाउनुपर्छ भन्ने निर्देश मनुस्मृतिले दिएको छ—

अद्रोहेणैव भूताना–
मल्पद्रोहेण वा पुनः ।
या वृत्तिस् तां समास्थाय
विप्रो जीवेदनापदि ।।४।२।।

आपत् नपरेका अवस्थामा ब्राह्मणले कुनै पनि प्राणीलाई पीडा नदिईकन अथवा त्यस्तो गर्न सम्भव नभए थोरै मात्र पीडा दिएर जेजस्तो जीवनसाधन मिल्दछ, त्यसैले आफ्नो जीवनयात्रा चलाओस्।

सके त सबैले नै यसरी जीवन चलाउन पर्ने हो, तर सबैलाई यसरी जीवन चलाउन सम्भव हुँदैन । त्यसैले कम्तीमा पनि त्याग–तपस्या गरेर जीवन बिताउनुपर्ने र सबैको कल्याण गर्नुपर्ने ब्राह्मण जातिका व्यक्तिले चाहिँ कुनै पनि प्राणीलाई पीडा नपुग्ने गरेर नै जीविका चलाउनुपर्छ भन्ने आशय यस श्लोकको हो ।

मनुस्मृतिले न्यायपूर्ण राज्यव्यवस्थाको परिकल्पना गरेर नै दुष्कर्म गर्ने सबैले दण्ड पाउनुपर्छ भनेको हो—

पिताऽऽचार्यः सुहृन् माता
भार्या पुत्त्रः पुरोहितः ।
नाऽदण्ड्यो नाम राज्ञोऽस्ति
यः स्वधर्मे न तिष्ठति ।।८।३३५।।

जो आफ्ना धर्ममा रहँदैनन् ती पिता, आचार्य, मित्र, माता, पत्नी, पुत्र, पुरोहित जोकोही भए पनि राजाका निम्ति अदण्डनीय हुँदैनन् । अर्थात् स्वधर्ममा नरहने सबै नै राजाका निम्ति दण्डनीय नै हुन्छन् ।

यस श्लोकबाट मनुस्मृतिको निष्पक्ष न्याय दिनमा र धर्मको अथवा व्यवस्थाको रक्षामा कतिसम्म ध्यान गएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

मनुस्मृतिमा उक्तप्रकारका उपदेशहरू प्रशस्त पाइन्छन् । तिनको अध्ययन, अनुशीलन र विवेचना गर्न सकेमा नै सही तात्पर्य पनि बुझ्न सकिन्छ ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्