राप्रपा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य बन्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु) को पूर्ण सदस्य बनेको छ।
जर्मनीको बर्लिन शहरमा आइतबारदेखि हिजोसम्म चलेको आइडियुको फोरम बैठकबाट राप्रपाले सदस्यता प्राप्त गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ्ग गुरुङले आइडियुका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियुको पुर्ण सदस्यताको प्रमाण पत्र ग्रहण गरेका श्रेष्ठले बताए।

बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडियुका उपाध्यक्ष हिक्मतजङ्ग कार्की सहभागी भएका छन्।
यसअघि नेपालबाट आइडियु फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशकपछि आइडियुको पूर्ण सदस्यता प्राप्त गरेको हो।

विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आइडियुको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् ।

 

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्