डाक्टर गाउँमा जानै मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्।

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्। उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए।

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरु जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए। उनले सबै स्वास्थ्यकर्मीहरुले जुनसुकै बेला कुनै क्षेत्रमा पनि जानु पर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए। अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उनले बताए।

उनले भने, ‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ। यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरुबाट डाक्टर पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ। नर्स पठाइदिनुपर्‍यो भनेर आउनुभएको छ। कोही जान तयार हुनुहुन्न। हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौँ। नर्स पठाउन सक्दैनौँ।’

स्वास्थ्यमन्त्री खापुङले थपे, ‘अहिले संघीयताको कार्यान्वयनमा पनि छौँ हामी। भर्खरै समायोजन भएको छ र समायोजनमा पनि अनेक समस्या छन् भन्ने कुरा कर्मचारी र प्राविधिक साथीहरुबाट नै हामीकहाँ आइरहेका छन्। समायोजन भइसकेपछि सरुवा गर्ने एक ठाउँबाट अर्को ठाउँमा पठाउने सीमा पनि छन्। कुनै पनि चिकित्सक, कुनै क्षेत्रमा काम गर्न योग्य नर्स वा कोही पनि प्राविधिक सकेसम्म कुनै पनि ठाउँमा जान मानसिकता बनाउँदा राम्रो हुन्छ। त्यो बनाउन सक्यौँ भने सेवा पनि पुग्छ। हामीले लडेर ल्याएर बनाएको संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो थप बल पुग्छ।’

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्