जलाउँदै गरेको किशोरीको शव प्रहरीको नियन्त्रणमा, आमा, दिदी र ठूलीआमा पक्राउ

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ।

प्रहरीले बहुदरमाई नगरपालिका–७ छपकैया टोलबाट आधा जलेको किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार राति ११ बजे किशोरीका आफन्तले घाटमा शंकास्पद अवस्थामा लगेर जलाइरहेको अवस्थामा प्रहरीलाई खबर पुगेको थियो। किशोरीको मृत्यु शंकास्पद भएकोले तत्कालै घटनास्थलमा पुगेको प्रहरीले आधा जलेको किशोरीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

प्रहरी पुगेपछि शव जलाइरहेको किशोरीका आफन्तहरु भागेका थिए। किशोरीको मृत्यु शंकास्पद देखिएकोले अनुसन्धानको लागि उनकी आमा, दिदी र ठूलीआमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको  कार्कीले बताए।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको तथा पक्राउ परेकाहरुसित सोधपुछ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीका अनुसार किशोरी गाउँकै एक युवकसँग प्रेममा थिइन्। जसका कारण अभिभावकले उनलाई मानसिक तनाव दिनेगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मानसिक यातना खेप्न नसकेपछि किशोरीले बिष सेवन गरेको र घटना लुकाउन आफन्तले राति शव जलाउनको खोजेको बताइएको छ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्