भुक्तानी माग गर्दै कृषि मन्त्रालयमा किसानको धर्ना

जनकपुरधाम – शीतभण्डार निर्माणको भुक्तानी माग गर्दै किसानले मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा धर्नामा बसेका छन्। मन्त्रालयमा रहेको दुई वटा शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन्।

किसानले मन्त्रालयको लेखा शाखा तथा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गरेर धर्नामा बसेका हुन्।

शीतभण्डार निर्माणमा लागेको खर्चको भुक्तानी अविलम्ब गर्नुपर्ने, किसानलाई समयमै पर्याप्त मलखाद्य उपलब्ध गराउनुपर्ने, बीउ बिजन उपलब्ध गराउनुपर्ने, प्रदेशको कृषि मन्त्रालयअन्तर्गत सञ्चालन हुने अनुदान, सेवा–सुविधा र विभिन्न योजनामा एकरूपता कायम गरी किसानको हकहित सुनिश्चित गर्नुपर्ने, शीतभण्डारको बाँकी कार्य अगाडि बढाउनुपर्ने पाँच मागसहित उनीहरू धर्नामा बसेका हुन्।

भुक्तानीका लागि पटक–पटक निवेदन दिए पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको किसान शेषनारायण यादवले बताए।

उनले शीतभण्डार निर्माण कार्यको ३ वर्ष हुन लाग्दासमेत मन्त्रालयले भुक्तानी नदिँदा आफूहरू मारमा परेको बताए। धर्नाम बसेका यादव जसपाको मधेश प्रदेशका उपाध्यक्षसमेत हुन्।

शीतभण्डार निर्माणमा अनियमितता भएको भन्दै आलोचना भएपछि मन्त्रालयले रकम निकासा रोकेको थियो। मन्त्रालयले रकम दिन आनाकानी गरेपछि उनीहरू अदालत पुगेका थिए।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ। यता, कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले नियम कानुन पु¥याएर रकम भुक्तानी हुने प्रतिबद्धता व्यक्त गरिन् । उनले हतार गरेर नहुने भन्दै नियम, कानुनअनुसार नै भुक्तानी हुने र त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको बताइन्।

प्रदेश सरकारले ०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्