अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेका छन्ः पञ्चा सिंह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेको आरोप लगाएकी छन्।

अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले यस्तो आरोप लगाएकी हुन्।

लामो समयदेखि अवरुद्ध स्ववियू निर्वाचन गराउन पटक–पटकको ताकेता गर्दा पनि संगठनहरुबीचको संवादले निष्कर्ष दिन नसकेको भन्दै नेत्री सिंहको यस्तो प्रतिक्रिया आएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले विद्यार्थी आन्दोलनमा दर्जन बढी संगठन क्रियाशिल रहँदै गर्दा निरन्तर स्ववियू निर्वाचन अवरुद्ध हुनुले विद्यार्थी संगठनमाथि नै प्रश्न उठेको बताइन्।

स्ववियू कुनै अमुक संगठनको हार र जितको मात्र प्रश्न नभएर समग्र विद्यार्थी आन्दोलनको भविष्यसँग जोडिएको विषय भएकोले सबै विद्यार्थी संगठनहरु जिम्मेवार बन्नुपर्ने सिंहको भनाइ थियो।

अखिल महासचिव दिपेश पुनसहित उपाध्यक्षद्वय तुकमान महरा र जीपी मैनालीले समसमायिक प्रशिक्षण मन्तव्य राखेका थिए।

अखिल (क्रान्तिकारी)ले हालै तीन महिने संगठनात्मक अभियान घोषणा गरेर मुलुकभर विभिन्न संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्