ऐना झ्यालको पुतली भदौ २४ मा प्रदर्शन हुने

काठमाडाैँ- सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको चलचित्र हो।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली चलचित्रको रूपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो।

लेखक/निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर चलचित्रतर्फ सुजितको डेब्यू हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेट अवधिको लघुचलचित्र थियो।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठसहित कलाकारको अभिनय छ। सिरु विष्टबाहेक चलचित्रका अधिकांश कलाकार नयाँ हुन्।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्।

चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्