विदेशबाट आयात गरेर महिनामा ३ करोड ७१ लाखको चेविङगम चपाउँछन् नेपाली

वीरगञ्ज- विदेशबाट आयात गरेर नेपाली जनताले महिनामै करौडौँको चेविङगम चपाउने गरेका छन्।

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा विदेशका विभिन्न देशबाट नेपालमा आयात भएको चेविङगमकाे तथ्यांकले नेपालीहरू महिनामै ३ करोड ७१ लाखभन्दा बढीको चेविङगम चपाउने गरेको देखाएको छ।

भन्सार विभागले जारी गरेको चालु आवकाे ११ महिनाको तथ्यांकअनुसार यस अवधिमा विदेशका आठवटा देशबाट नेपालमा ४० करोड ८४ लाख ६६ हजार बराबरको चेविङगम आयात भएको हाे।

ती देशबाट नेपालमा कुल १३ लाख २ हजार १ सय ९५ किलो चेविङगम आयात भएको भन्सार विभागले जनाएको छ।

११ महिनामा आयात भएको चेविङगमकाे मूल्यलाई महिनामा भाग गर्दा एक महिनामा नेपालमा विदेशबाट ३ करोड ७१ लख ३३ हजार २ सय रुपैयाँ ७२ पैसाको आयात हुने देखिन्छ।

यसअनुसार नेपाली जनताले महिनामै ३ करोड ७१ लाखभन्दा बढीको चेविङगम चपाउने गरेको देखिएको हो। चालु आवको ११ महिनामा सबैभन्दा बढी भारतबाट नेपालमा ३९ करोड ५१ लख ११ हजार बराबरको १२ लाख ७२ हजार ९२ किलो चेविङगम आयात भएको छ।

यस्तै, बंगलादेशबाट ५३ लाख ४० हजार बराबरको २१ हजार ६ सय ११ किलो, अमेरिकाबाट ४६ लाख ४९ हजारको ३ हजार २ सय २३ किलो, टर्कीबाट ३२ लाख ७६ हजार बराबरको ५ हजार २ सय ८ किलो चेविङगम नेपालमा आयात भएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ।

यसैगरी, जापानबाट ६२ हजार बराबरको २४ किलो, अस्ट्रेलियाबाट १५ हजार बराबरकाे २ किलो, चीनबाट ८ हजारको ३२ किलो र हङकङबाट ५ हजार बराबरको ३ किलो चेविङगम चालु आवको ११ महिनामा नेपालमा आयात भएको छ।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्