बाँकेमा शंकास्पद वस्तुसहित भारतीय कन्टेनर नियन्त्रणमा, ह्वाइट पप्पी सीड भएको अनुमान

काठमाडौँ- बाँकेमा शंकास्पद वस्तुसहित एक भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनरमा अवैध वस्तु भएको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता मधुसुधन न्याैपानेले बताएका छन्।

उनका अनुसार कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर २५० वटा बोरामा सरसिउकोजस्तो मसिनो दाना भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको छ।

प्रहरीले उक्त दाना ह्वाइट पप्पी सीडजस्तो देखिएको बताएको छ। ह्वाइट पप्पी सीड दुईखाले हुने भएकाले के हो भन्नेबारे अझै यकिन भइनसकेको न्यैपानेले बताएका छन्। अफिमको बीउ हो वा केकमा राखिने वस्तु हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन हुने उनले बताए।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उक्त कन्टेनरमा राखिएका बोरामा ब्राउन सुगर र सुन राखिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।

गोप्य सूचनाका आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर चेकजाँज गर्ने क्रममा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले कन्टेनर र सामान बरामद गरे पनि कन्टेनरका चालक र सहचालक भने फरार छन्।

प्रहरीले कन्टेनर र त्यसमा भेटिएको २५० बोरा ह्वाइट पप्पी सीडजस्तो देखिने सामानलाई भन्सार कार्यालय नेपालगञ्जमा पठाएको छ।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्