छुट्टै कानुन विश्वविद्यालयको आवश्यक्ता छः दीपककुमार कार्की

काठमाडौँ – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

काठमडौंमा शुक्रबार आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताए।

उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे।

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुपर्ने बताए। उनले छुट्टै कानुन विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘न्यायपालिकामा केही समस्या देखिएका छन्। समस्या पहिला पनि थिए र अहिले पनि आएका छन्। न्यायपालिकामा धेरै समस्याका कुरा आइरहेका छन्। हामी यसलाई सुधारका लागि अघि बढीरहेका छौँ। केही समस्या देखिएका छन्। न्यायपालिकामा पूर्ण समस्या छ। काम गर्न सक्दैन भन्ने कुरा भएको छ। वास्तवमा त्यो होइन, विकृति, विसंगति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ। सम्बोधन हुन्छ। हामी सबैको सुधारको लागि कटिवद्ध हुनुपर्छ। मैले पनि महशुस गरेको छु, कानुनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ। सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ। यसा अभियानमा लाग्नुपर्छ। न्यायपालिकाको शुद्धिकरणको लागि यस्ता समस्या नआओस् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ।’

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरु समावेश गर्न आवश्यक रहेको बताए।

 

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्