आगलागीमा परी माेरङमा एक महिलाकाे मृत्यु, श्रीमानले आगाे लगाएकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान

सांकेतिक तस्बिर

विराटनगर- माेरङमा आगलागीमा परी एक महिलाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा रंगेली नगरपालिकाकाे बिर्ता बजारमा बस्दै आएकी ३० वर्षीया बबिता मण्डल रहेकी छन्।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएकाे छ।

पत्नीलाई घरभित्र थुनेर आगो लगाएको आशंकामा प्रहरीले २३ वर्षीय तिल्का मल्लिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बताएकाे छ।

गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित शनिबार करिब बिहान ६ बजे कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो।

प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियाे।

श्रीमानश्रीमतीबीच आन्तरिक विवादबाट घटना भएको हुनसक्ने देखिएको प्रहरीकाे आंकलन छ।

दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो।

विवाह भए पनि उनीहरू सन्तानविहीन थिए। त्यसैगरी, जगदिश र बबिताको समेत सन्तान नभएको प्रहरी अनुसन्धानमा खुलेको छ।

शुक्रबार, तिल्काको घरमा एक्कासि आगलागी भएको खबर प्रहरीले राति १० बजेतिर पाएको थियाे।

 

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्