कर्णाली करिडोरको कडा चट्टानी भीर छिचोल्दै नेपाली सेनाको विकास निर्माण कार्यदल

फाइल तस्बिर । सांकेतिक तस्बिर

सिमकोट- कर्णाली करिडोरको हुम्लाखण्डअन्तर्गत स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।

सो खण्डको सडक निर्माणको काम गर्दै आएका कामदार जुन शाहीका अनुसार बिहान छ बजेबाट बेलुका सात बजेसम्म कामदारहरू काममा खटिँदै आएका छन्।

विष्फोटका लागि मेसिनबाट होल खोप्ने, विष्फोट भएर छरपष्ट भएका ढुंगा पन्छाउनेदेखि ग्याबिन भर्ने कार्य एक साथ भइरहेको छ।

एक महिनाभन्दा बढी समयदेखि यसरी सो खण्डमा शाही लगायतको टिम काम गर्दै आएका छन्।

नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोखरेलले यस वर्ष सेनाले जिम्मा पाएको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।

हुम्ला र कालिकोट बाजुरा क्षेत्रको घाटापारी क्षेत्र गरी तीन किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी सेनाको रहेको थियो।

यसमा हुम्लाखण्डको स्याल्तडीदेखि लाली बगरको ११ किलोमिटर रहेको छ। एक किलोमिटरभन्दा बढी सडक हुम्लाखण्डको सेनाले निर्माण गरेको छ।

घाटापारी क्षेत्रको ११ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ। हुम्लाखण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको निर्माणमा खटिएको सेनाले जनाएको छ। हाल लालीबगर ल्याप्चे क्षेत्रको पाँचवटा स्थानमा सडक निर्माण कार्य भइरहेको छ। यसमा ११ वटा कम्प्रेसर मेसिनबाट काम भइरहेको छ।

२५० जना हुम्लाखण्ड र ५० जना कालिकोट बाजुरा गरी ३०० जना कामदार दुवै खण्डमा काम गर्दै आएका छन्।

सेनाले कामलाई तीव्रताका साथ निरन्तरता दिने जनाएको छ।

हुम्लाखण्डमा सेनाले दैनिकजसो कडा चट्टानलाई विष्फोट गर्ने कार्यसमेत गरिरहेको छ। उनले त्योसँगै मेसिनबाट सडक निर्माण गर्ने र कामदारबाट ग्याबिन लगाउने कार्य समेत भइरहेको बताए।

करिडोरको हुम्लाखण्डमा ठाउँ-ठाउँमा गरी तीन किलोमिटर क्षेत्र चट्टानी भाग रहेको छ। ती सबै चट्टानमा विष्फोट गर्ने कार्य भइरहेको छ।

तीस मिटर अग्लो चट्टानलाई विष्फोट गरेर आठ मिटर चौडा सडक निर्माण गर्नुपर्ने बाध्यता सेनालाई रहेको छ।

सरकारले आगामी आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटसँग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो।

यसअघि करिडोरकै कालिकोटको खुलालु, लैफु हुँदै हुम्लाको सलीसल्लासम्मको १२२ किलोमिटर सडक निर्माण गरेर सेनाले गत वर्ष असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्