आँगनमै खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित

सिमकोट – सधैँ खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट सिमकोट गाउँपालिका–७ को जबुका र खोल्सेरा गाउँका स्थानीयलाई छुटकारा मिलेको छ। जबुका खोल्सेरा खानेपानी योजना निर्माण भइ धारामा पानी आउन थालेपछि स्थानीयलाई सहज भएको हो।

जबुका गाउँकी स्थानीय जयकली शाहीले घर आँगनमै खानेपानीको धारा निर्माण भएर पानी आउन थालेपछि सहज र स्वच्छ पानी प्रयोग गर्न पाएको बताइन्। यसअघि गाउँभन्दा टाढाको खोलाको पानी प्रयोग गर्ने गरेको बताउँदै उनले बर्खाको बेला धमिलो पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको सुनाइन्।

खोल्सेरा गाउँका छक्क शाहीले पनि गाउँमा धारा निर्माण भएर पानी झरेपछि स्थानीयलाई सहज भएको बताए। यसअघि उक्त गाउँका स्थानीयले टाढाको मूलको पानी प्रयोग गर्दै आएका थिए। मुल सुकेका बेला टाढाको खोलाबाट पानी बोकेर ल्याएको सम्झिँदै उनले अहिले घर आँगनमै निर्माण भएर धारामा पानी आउन थालेपछि विगतमा भोगेको पानीको समस्या समाधान भएको बताए।

खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यलयका प्रमुख अकल महतका अनुसार गत र चालु आर्थिक वर्षको कार्यक्रमबाट जबुक खोल्सेरा खानेपानी योजना स्थानीय उपभोक्ताबाट निर्माण भएर सञ्चालनमा आएको छ।

यस योजनाबाट मुहानमा एउटा इन्टेक, दुई वटा आरबिटी र पाँच वटा धारा निर्माण गरिएका छन्। यसबाट ५० घरधुरीका तीन सय जना लावान्भित भएका छन्।

यसका लागि कार्यालय र स्थानीय उपभोक्ताहरुको जनश्रमदानबाट ५४ लाख बजेट खर्च गरिएको छ। दुई हजार सात सय मिटर टाढाको मुहानबाट पाइपलाइन खनेर पानी आपूर्ति गरिएको छ।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्