सरकारले मल ल्याउँछु भनेर किसानलाई अलमल्यायोः ओली

फाइल तस्बिर।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि गरेको दाबी गरेका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताए।

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने बताए।

उनले भने, ‘हामीले सरकार छोडेको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो? कृषि प्रदान देश। ६० प्रतिशत जनता कृषिमा संलग्न छ। यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन्। जहाँको जनसंख्या ३ करोडभन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्वका आयात गर्छौँ चामल मात्रै?’

‌ओलीले थपे, ‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन। यो किन यस्तो हुन्छ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ। त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि। अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नुभयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन्। वाणी मिठो थियो। कुरा राम्रो थियो। तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ? अर्थात अलमल्याउने काम भएको  । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन।’

अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि पटक–पटक दोहोर्‍याए।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्