कमरेड शब्द मलाई असाध्यै मन पर्छः कमल थापा

कमल थापा। फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन्।

उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए। अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे।

उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुन पनि आग्रह गरे।

उनले भने, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ। कमरेड भनेको साथी भनेको हो। मित्र भनेको हो। जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो। कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन। कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु।’

अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्