घर–घरमा खानेपानीको धारा जडान भएपछि थाया बस्तीका स्थानीय हर्षित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–७ को थाया बस्तीमा खानेपानीको धारा जडान गरिएको छ। घरघरमा खानेपानीको धारा जडान भएपछि सधैँ खोलाको पानी खानुपर्ने बाध्यतामा रहेका स्थानीय खुसी भएका छन्।

थाया मथुरा खानेपानी योजना निर्माण भइ सञ्चालनमा आएपछि घरघरमा धारा जडान सम्भव भएको हो। थाया गाउँका स्थानीय गोपी सिंहका अनुसार खानेपानी योजना दुई वर्ष लगाएर सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ। यसअघि सो गाउँका स्थानीयले खोलाको पानी प्रयोग गर्दै आएका थिए।

खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख अकल महतले थाया मथुरा खानेपानी योजना दुई आर्थिक वर्ष लगाएर काम सम्पन्न भइ सञ्चालनमा आएको बताए।

उक्त योजना आर्थिक वर्ष ०७७/०७८ बाट निर्माण सुरु भएको थियो। योजना स्थानीय उपभोक्तबाट निर्माण भएको र यसबाट मुहानमा इन्टेक, एउटा आरबिटी, ४५ वटा व्यक्तिगत र तीन वटा सार्वजनिक धारा निर्माण भएको छ। यसबाट सो बस्तीका ३६० जना लावान्भित भएका छन्।

उक्त योजनाका लागि कार्यालय र स्थानीय उपभोक्ताहरुबाट गरि ४८ लाख लागत लागेको छ।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्