चलचित्र विकास बोर्ड अध्यक्षमा कस-कसको पर्‍यो आवेदन?

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीले उम्मेदवारी दिएका छन्।

अभिनेता केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।उनीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ।

शाखाका अनुसार आइतबार आवेदन दिने अन्तिम दिन हो।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तीर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख थियो।

भुवन केसीले तोकिएको मापदण्डमा आफ्नो उमेर र शैक्षिक योग्यता बाधक नहुने भएपछि आवेदन दिएको बताएका छन्।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्