पहिराेकाे जोखिममा बस्ती, स्थानीय भन्छन्,‘रातमा पानी पर्दा भोलिसम्म मरिन्छ कि भन्ने डर लाग्छ’

फाइल तस्बिर ।

लमजुङ – लमजुङमा बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ।

दोर्दी गाउँपालिका-७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो।

गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताइन्। ‘उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ। उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ।

भवनको पछाडिको भागसम्म ढुङ्गामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ,उनले भनिन्,‘वर्षा भएपछि पहिराले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ।’

वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएको वडाका कर्मचारीहरुले बताए।

पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ। उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ।

लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ। वडाध्यक्ष गुरुङले भने, ‘पहिरा निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सर्फा गर्दै काम गछौँ।’ वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट दुई लाख रुपौयाँ बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक-पटक आएको पहिराले थप क्षति पुर्याउनाका साथै अन्य दुईस्थानका सडक नै बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिँडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो।

पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन्। त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिराले आधा पुरेको छ। बस्तीमा पनि १० घर पहिराले जोखिममा पारेको छ।

यही असार १ गतेको पहिरो र त्यसपछि बेला-बेलामा खसेको पहिराले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पुर्याएको वडासदस्य लालबहादुर तामाङले बताए। उनका अनुसार जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन्।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्